नवलपरासी सवारी दूर्घटनाः एकको मृत्यु, सात घाइते, चारको अवस्था गम्भिर

घाइतेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार हुदैँ

नवलपरासी । नवलपरासीमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

उक्त दुर्घटना बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा भएको हो । दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु ३ त ४५०० नम्बरको ट्र्याक्टरलाई ना ४ ख ६६९० नं ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनाबाट ट्र्याक्टरमा सवार सातजना घाइते भएका छन । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा विनयी त्रिवेणी–२ निवासी ५० वर्षीया भगवती कार्कीको उपचारको क्रममा निधन भएको दुम्किवास प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी विनयी त्रिवेणी–२ ज्यामिरे निवासी ४५ वर्षीय उदय रोकाया, ४० वर्षीया मीना रोकाया, ५० वर्षीय विष्णु रेग्मी, ४० वर्षीया ज्ञानु तामाङ, ५५ वर्षीया यशोदा ढकाल, ४५ वर्षीया तुलसी परियार र ३८ वर्षीय जितकुमार पौडेल घाइते भएका छन् ।

ट्रक र ट्र्याक्टर ठोक्किएपछि सोही सवारी साधनमा ना ३ ख ५९३६ ट्रक, लु ३ च ५३२२ नम्बरको जिप र ना ६ ख ५४२९ नम्बरको ट्रक पनि ठक्कर खाएका थिए ।