अझै एक सातासम्म चिसो नघट्नेः चिसोका कारण जनजीवन कष्टकर बन्दै

तराईका २२ जिल्लामा दाउरा किन्न २० लाख विनियोजन

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले सुक्खा वायुका कारण अझै एक सातासम्म चिसो नघट्ने जनाएको छ । गत शनिबारदेखि बढेको चिसोका कारण उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको हो ।

एक सातासम्म चिसो नघटे पनि बढ्ने सम्भावना भने एकदमै कम रहेको समेत महाशाखाले जनाएको छ । शीतलहर प्रभावित सर्वसाधारणका लागि आवश्यक दाउरा टिम्बर कर्पोरेसन अफ नेपाल र जिल्ला वन कार्यालयले उपलब्ध गराई वितरण गरिने भएको छ ।

अत्याधिक चिसोसँगै तराईका जिल्लाहरुमा बाक्लो शितलहर चलेको कारण त्यहाँको जीनजीवन अत्यन्त प्रभावित भएको छ ।

शीतलहरबाट सबैभन्दा धेरै बाढीपीडित, अस्थायी आवासमा बसेका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् ।

शीतलहरका कारण झापा, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, सिराह, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (पूर्व), नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

गृहद्धारा तराईका २२ जिल्लामा दाउरा किन्न २० लाख विनियोजन

तराईका जिल्लाहरुमा शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि सरकारले दाउरा तथा न्यानो वितरणका लागि आर्थिक कोष विनियोजन गरेको छ । गृह मन्त्रालयले शीतलहरबाट प्रभावित तराईका २२ जिल्लाका लागि उक्त कार्यक्रम गर्न लागेको हो ।

गृहले तराईका २२ जिल्लाका लागि दुई करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रतिजिल्ला १०–१० लाखका दरले दाउरा र कम्बल किनेर वितरण गर्ने कार्यक्रम गृहले तय गरेको जनाएको छ ।

गृहले विनियोजन गरेको उक्त रकम सम्बन्धीत जिल्ला विपत् व्यवस्थापन समिति मार्फत कार्यक्रममा खर्च हुने बताइएको छ । पछिल्लो समय चिसो बढेपछि सर्वसाधारणको जनजीवनतर्फ सरकारको ध्यान गएको देखिन्छ।