डा. केसीको रिहाइको माग गर्दै राजधानीमा प्रदर्शनः पूर्वप्रधानमन्त्रीदेखि कलाकारसम्म सडकमा

सर्वोच्चको फैसलाको खारेजीको माग

काठमाडौं । सोमबार राति त्रिवि शिक्षण अस्पताल हातामा अनसन बसिरहेको अवस्थामा डा. गोविन्द केसीको पक्राउ गरिएको घटना प्रति विरोध जनाउदै आज बिहानैदेखि माइतीघर मण्डलामा विभिन्न राजनीतिक दलका नेता तथा उनका समर्थकहरुले प्रदर्शन गरिरहेका छन ।

अदालतको मानहानी गरेको आरोप अदालतको आदेश अनुसार डा. केसी पक्राउ परेपछि उनको रिहाइको माग गर्दै उक्त प्रदर्शन भएको हो । उनका समर्थकहरुले मर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग समेत गरेका छन ।

उक्त प्रदर्शनमा राजनीतिक दलका नेतादेखि पेसाकर्मी र कलाकारहरुको समेत सहभागीता रहेको देखिएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, त्यसैगरी कलाकारहरु अमृत गुरुङ, गिरिश खतिवडा, निर्मल शर्मा लगायत माइतीघरमा भेला भएका छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबारदेखि अनसनमा बसेका थिए ।

अनसनलगत्तै सर्वोच्चले उनलाई सोमबार राति पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको थियो । अदालतले उनलाई आज उपस्थित हुन आदेश दिएको छ । डा. केसीलाई अहिले ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ ।