भिडियोमा हेर्नुहोस नेम्वाङको घोषणाः प्रतिनिधिसभाको परिणाम नआउँदै राष्ट्रियसभाको निर्वाचन गर्दा महिलाको संख्या घट्ने

पहिले प्रतिनिधिसभाको परिणाम निकाल्न आग्रह

काठमाडौं । पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले राष्ट्रियसभाको निर्वाचन पहिले गराएर प्रतिनिधिसभाको समानुपातिक तर्फको प्रकृयापछि पुरा गर्दा केन्द्रीय संसदमा महिलाहरुको संख्या घट्ने तर्क गरेका छन ।

नेता नेम्वाङले हिजो काठमाडौंमा सूचना केन्द्रद्धारा आयोजित एक कार्यक्रममा त्यस्तो बताएका हुन । उनले अहिले प्रतिनिधिसभाको परिणाम तुरुन्त निकालेमा संसदमा महिलाको सख्या कम्तीमा ३३ प्रतिशत सुनिश्चित हुने दावी गरे ।

उनले भने–‘पहिले समानुपातिकको परिणाम सार्वजनिक गरेर राष्ट्रियसभाको निर्वाचन गर्दा संविधानले तोकेकै अनुसार जिम्मेवारी दिनुपर्छ, तर दलहरुले त्यसमा बेवास्ता गरिरहेका छन, त्यसले महिलाको सख्या घटाउछ ।’

उनले निर्वाचन आयोग प्रति संकेत गर्दै प्रश्न गरे–‘राष्ट्रियसभा निर्वाचनपछि मात्रै प्रतिनिधिसभाको परिणाम निकाल्छौ भन्नुको अर्थ के हो ?’ यसले संविधानमा तोके अनुसार महिलाको सख्या घटाउने सम्भावना रहेको देखिन्छ ।