भेनेजुएलाका चारजनामाथि खाद्यपदार्थको तस्करीमा संलग्नताको आरोपः अमेरिकी प्रतिबन्ध

राष्ट्रपति मडुरोद्धारा प्रतिबन्ध उचित भएको प्रतिकृया

भेनेजुएला । मानव अधिकार उल्लंघन अथवा भ्रष्टाचार गरेको आरोपमा अमेरिकाले भेनेजुएलाका चारजना बहालवाला वा अवकाश प्राप्त जेनरलमाथि प्रतिबन्ध लगाएको अधिकारीहरुले बताएका छन्।

अमेरिकी अर्थ मन्त्रालयले प्रतिबन्ध लगाएकाहरूमा खाद्यपदार्थ वितरण सञ्जालका पूर्व प्रमुख पनि छन्। उनीमाथि खाद्यपदार्थ तस्करीको आरोप लगाइएको छ। चारैजनाको सम्पत्ति रोक्का गरिएको छ र उनीहरूसँग काम गर्न अमेरिकी उद्योग व्यवसायलाई प्रतिबन्ध लगाइएको छ।

हालसम्म राष्ट्रपति निकोलास मडुरोसहित ४४ जनामाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। भेनेजुएलाका विदेशमन्त्री खोर्खे अर्यासाले साम्राज्यवादी र युद्ध चिताउने अमेरिकी सरकारका फौजहरूसामु आफ्नो देश कहिल्यै नझुक्ने बताएका छन्।

उनले भने–‘हाम्रो सेना विदेशी शक्तिसामु अझ साम्राज्यवादी र युद्ध चिताउने डोनल्ड ट्रम्पको सर्वोच्चतावादी सरकारको फौजसामु कहिल्यै झुक्ने छैन। हामी सम्मान चाहन्छौँ।’

अमेरिकी अर्थमन्त्री स्टिभन मनूसीनले प्रतिबन्ध उचित भएको भन्दै राष्ट्रपति मडुरोले र उनका निकटवर्तीहरूले आफ्ना स्वार्थलाई भेनेजुएलाका जनताका स्वार्थभन्दा माथि राखेका छन्।

अमेरिकी अर्थ मन्त्रालयले आरागुआ राज्यका गभर्नर तथा सेनाका अवकाश प्राप्त जेनरलमाथि खाद्यपदार्थको तस्करीमा संलग्न रहेको आरोप लगाएको छ।

दुई वर्षअघि खाद्यपदार्थको अभावले दङ्गा निम्त्याएपछि राष्ट्रपति मडुरोले वितरणको जिम्मेवारी सेनालाई दिएका थिए।

अमेरिकी सञ्चारमाध्यमका अनुसार खाद्यपदार्थको ठेक्का पाउन र बन्दरगाहरूबाट ओसार्ने कामका लागि सेनाले जेनरलहरूलाई घुस खुवाएको थियो। विपक्षी नेतृत्वको कंग्रेसले जेनरलमाथि औंला तेर्स्यायो र सार्वजनिक रूपमा उनको आलोचना गर्‍यो। बीबीसीबाट