बोक्सीको आरोपमा निर्घात कुटपिटः कानूनी उपचारका खोज्दै पीडित प्रहरीमा

प्रहरीद्धारा कुटपिटमा संलग्न दुई जना पक्राउ

लहान । कथित बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा लहान नगरपालिका–२१ खोरिया टोलबाट पक्राउ परेका आमाछोरीमाथि प्रहरीले मुद्दा चलाएको छ ।

बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरेको भन्दै स्थानीय ३८ वर्षीया रीतादेवी दासले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको ३५ वर्षीया इनरदेवी दास र उहाँकी १८ वर्षीया छोरी निलम दासमाथि मुद्दा चलाएको हो ।

बोक्सी आरोपमा कुटपिट गर्ने आमाछोरीमाथि सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत सिरहामा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेशचन्द्र ठकुरीले जानकारी दिए।

गत शनिबार लहान बजारबाट घर फर्किरहेका बेला बेलुकी ७ बजेतिर बोक्सी लगाउने तिमी नै हो, मेरो घर परिवारका सदस्यलाई रोगी बनाउने तिमी नै हो भन्दै इनरदेवी र उनकी छोरी निलमले आफूलाई निर्घात कुटपिट गरेको पीडित रीतादेवीले बताइन ।

शुरुमा इनरदेवीले भुइँमै पछारे, त्यसपछि निलम र इनरदेवीले निर्घात कुटपिट गरेको रीतादेवीको भनाइ छ ।

बोक्सीको आरोपमा आफूमाथि पटकपटक कुटपिट गर्दा गाउँमै छलफलबाट मिलाउने गरेको भन्दै रीतादेवीले यस पटक आफू कानूनी उपचारका लागि प्रहरीमा आएको बताइन । रासस