राजनीतिक क्रान्ति नयाँ चरणमा पुग्यौंःअब मुलुक आर्थिक समृद्धिको दिशामा बढ्नुपर्छः प्रचण्ड

‘हामी कसैको अधिनस्थ छैनौंः हाम्रो स्वतन्त्र विदेश नीति छ’

भरतपुर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक क्रान्ति नयाँ चरणमा पुगेको तर्क गरेका छन ।

आज भरतपुर महानगरपालिकाको पहिलो नगर सभालाई सम्बोधन गर्दै अब मुलुक आर्थिक समृद्धि र विकासको दिशामा अगाडी बढ्नु पर्ने भन्दै त्यस्तो तर्क गरेका हुन ।

प्रचण्डले भने–‘६० वर्ष पहिले हाम्रै हाराहारीमा रहेका मुलूकहरु धेरै अगाडि बढेका छन । हामीले अब गम्भीर रुपमा सोच्नुपर्छ, जनताले पटकपटक अवसर दिदैनन्, अहिले पनि जनताले दिएको अभिमतको सम्मान गर्न सकेनौं भने देश अप्ठ्यारोमा पर्न सक्छ।’

आफु बाम गठबन्धनलाई बलियो बनाएर अघि बढ्ने पक्षमा रहेको भन्दै प्रचण्डले भने–“मिल्नेलाई मिल्न दिनुपर्छ, फुटाउनेतिर लाग्नुहुदैन। हामी फुट्दा फुट्दा देशको दुर्गति भयो, अब देश बनाउने बेला आएको छ। हामी कम्युनिष्टहरु मिल्दा सबैले खुसी हुनुपर्छ।’

सबै दलहरु मिलेर मात्र देशको हित, विकास र समृद्धीको जन चाहना पुरा गर्न सकिने भन्दै उनले भने–‘कांग्रेसका नेताहरुले मलाई भावी प्रधानमन्त्री बन्न भने, अब तपाईं कांग्रेसहरु पनि मिल्नुस्, मिल्दा मात्र देशको हित हुन्छ, विकास र समृद्धिको चाहना पूरा हुन्छ। हामी सबै मिल्नेतिर लागौं, अब कसैलाई फुटाएर राजनीति गर्नेतिर नसोचौं।’

‘हामी कसैको अधिनस्थ छैनौंः हाम्रो स्वतन्त्र विदेश नीति छ’

प्रचण्डले २४० वर्षसम्म टिकेको राजतन्त्रात्मक व्यवस्था पल्टाउदै मुलुक अहिले गणतन्त्रको युगमा गैसकेको अवस्थामा बामपन्थीहरुले स्वतन्त्र विदेश नीति अबलम्बन गर्ने बताए ।

उनले भने–‘हिजो राजा महाराजा भनियो, जनतालाई त्यही सिकाइयो। उनीहरु कहिले चीनतिर ढल्किए, कहिले भारततिर फर्किए तर अहिले त्यो जमानामा हामी छैनौं । हामी गणतन्त्रको युगमा छौं, हामी कसैको अधिनस्थ छैनौं, हाम्रो स्वतन्त्र विदेश नीति छ ।’

प्रचण्डले अहिलेको संविधानले सार्वभौम अधिकार जनतामा सुरक्षित राखेको बताए । उनले अब स्वतन्त्र विदेश नीतिका आधारमा बामपन्थी सरकार अघि बढ्ने दावी समेत गरे ।

उक्त नगरसभामा आर्थिक वर्ष २०७४ ०७५ को नीति, कार्यक्रम र बजेटबारे मेयर रेनु दाहालले प्रस्तुत गरेकी थिइन । उक्त प्रस्तावित नीति, कार्यक्रममाथि शनिबारदेखि छलफल हुने बताइएको छ ।