नारायणगढ मुग्लिन सडक आजबाट दैनिक ६ घण्टा बन्दः निर्माण कार्य जारी

निधारित समयमा मात्र सवारी चलाउन ट्राफिकको आग्रह

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड मंगलबार रातिदेखि दैनिक ६ घण्टासम्म बन्द हुने भएको छ । सडक निर्माणको काम भैरहेको हुनाले उक्त सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म दैनीक ६ घण्टा बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा ठेकेदार र आयोजना प्रमुखसहित १२ पुसमा बसेको बैठकले सडक निर्माणको कामलाई गति दिनका लागि दैनीक ६ घण्टा सडक बन्द गर्ने निर्णय गरेको थियो ।

दिउँसोको समयमा आजदेखि उक्त सडक क्षेत्रमा कटिङको काम सुरु भएकाले यातायात आवागमन अस्तव्यस्त हुने भएकाले रातिको समयमा आवश्यक वत्तीको प्रवन्ध गरी काम अघि बढाउने तयारी निर्माण कम्पनीले गरेको बताएको छ ।

सडक निर्माणको कारण रातिमा नचल्ने निर्णय भएपछि काठमाडौंबाट आउने रात्री बसहरुलाई राति १० बजेअघि नै मुग्लिन पार गरिसक्न ट्राफिक प्रहरीले यातायात व्यवसायी राष्ट्रिय महासंघलाई अनुरोध गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले निर्धारित समयभन्दा ढिला गरेर आउने बस र साना सवारीलाई मुग्लिन बजारमा र ट्रकहरुलाई लेवाटारमा रोक्ने तयारी गरिएको बताएको छ ।

निर्माणधिन सडकखण्डको १६ किलोमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न तथा कटिङ बिछ्याउने काम भैरहेको छ ।