माओवादी केन्द्रको विस्तारित बैठक: एमालेसँग पार्टी एकताबारे छलफल

बैठकले ठोस निर्णय पारित गर्ने विश्वास

काठमाडौँ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा एउटै घोषणापत्र लिएर चुनाव लडेका दुई पार्टीहरु माओवादी केन्द्र र एमालेबीच लामो समयदेखि चलको पार्टी एकताको वहस अहिले निष्कर्ष विहिन जस्तै बनेको छ ।

निर्वाचनपछि सरकार गठन र एकताको आधार तथा जिम्मेवारीका विषयमा पहिलेको सहमति अनुसार शिर्ष नेताहरु चुकेको उनीहरु एकले अर्को पार्टीलाई आरोप प्रत्यारोप गर्दै आएकाबेला आज माओवादी केन्द्रको कार्यालय समितिको विस्तारित बैठक बस्दै छ ।

सरकारग गठनको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य तेश्रो पक्षका राजनीतिक दलहरुसँग समेत आन्तरिक रुपमा छलफल गरिरहेको विषयको खुलासा भएपछि दुई दलका शिर्ष नेताहरुबीच देखिएको फाटो केहि दिनअघि उनीहरुबीचको भेटवार्ताले केही सुधार गरेको देखिन्छ ।

चुनाव लगत्तै दुई पार्टीबीच एकता गर्ने सार्वजनिक रुपमै घोषणा गरेको भएपनि अहिले आएर उनीहरुबीच आन्तरिक समस्या बढेको अनुमान गरिएको छ । त्यहि विषयमा छलफलका लागि आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्न लागको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले उक्त बैठक आज दिउँसो १ बजे बस्ने बताएकी छन । उनले बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा पार्टी एकताको विषयमा भइरहेको प्रयास र त्यसको तयारीका बारेमा वृहत छलफल हुने बताइन ।

माओवादीको आजको बैठकले पार्टी एकताको आधार, ठोस धारणा, जिम्मेवारी, सरकार गठन लगायतका विषयमा छलफल गरेर एकै धारणा बनाउने नेता, कार्यकर्ताहरुले विश्वास गरेका छन ।

माओवादी श्रोतका अनुसार पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा नआएको बेला नेताहरुमा देखिएको बुझाइको समस्यालाई बैठकले चिर्ने र महत्वपूर्ण निर्णय गर्ने भएकाले आजको विस्तारित बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।