अग्रेजी नयाँ वर्षको दिन राजधानीमा ढाका टोपी दिवसः हेर्नुहोस्, यसरी फहरायो राष्ट्रिय झण्डा

दौरासुरुवाल र टोपी लगाएर र्याली आयोजना

काठमाडौं । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ।

दिवसका अवसरमा जागरुक युवा अभियानले सोमबार बिहान र्‍याली निकालेको छ। माइतीघरबाट सुरु भएको र्‍याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको हो।

र्‍यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता रहेको थियो। सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए।

राष्ट्रिय टोपी अभियानका अभियन्ता जनार्दन पौडेलले नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि दिवसको सुरुआत गरिएको बताए।

उनले नेपालीको पहिचान गुमिरहेकाबेला सरकारले नै ढाका टोपी दिवस मनाउनुपर्ने विचार व्यक्त गरे। विगत पाँच वर्षदेखि अंग्रेजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाउने गरिन्छ।

पहिले सामाजिक सञ्जालमार्फत टोपी दिवसको प्रचार गरे तापनि विगत चार वर्षदेखि र्‍याली नै निकालेर दिवस मनाउन थालिएको पौडेलले बताए।

यस्तै वसन्तपुरमा पनि ढाकाटोपी लगाएर प्रदर्शन गरिएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा ढाकाटोपी लगाएर प्रदर्शन गरिएको थियो। रासस