इरानमा सरकार विरोधी प्रदर्शनहरुः सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध

मोबाइल फोन एपमाथि सरकारी नियन्त्रण

इरान । इरानका राष्ट्रपति हसन रुहानीले नागरिकसँग विरोध गर्ने अधिकार रहेको जनाउँदै हिंसात्मक गतिविधि गर्ने हक भने नभएको बताएका छन्।

चार दिनयता भएका सरकार विरोधी प्रदर्शनपछि पहिलो पटक प्रतिक्रिया दिँदै उनले तोडफोड वा सामाजिक अमनचयनमा खलल पुर्याउने कुनै पनि प्रयास सरकारका लागि सह्य नहुने चेतावनी दिए।

उनले अन्तर्राष्ट्रिय प्रतिबन्धहरु अहिले इरानमा देखिएका समस्याको कारक भएको बताए। सरकार विरोधी प्रदर्शनहरु राजधानी तेहरानबाहेक अन्यत्र पनि फैलिरहेका छन्।

सन् २००९ मा भएका विशाल र्‍यालीयताकै सबैभन्दा ठूला विरोधका कार्यक्रमहरु हाल इरानमा भइरहेका छन्। कतिपय शहरहरुमा झडप भइरहेको छ र इरानले आन्दोलनका लागि प्रयोग भएको भन्दै सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाएको छ।

अमनचयन कायम राख्न टेलिग्राम र इन्स्टाग्राम जस्ता एप्सहरुमाथि अस्थायी प्रतिबन्ध लगाइएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

इरानमा मोबाइल फोन एपमाथि नियन्त्रण

देशको उत्तर पूर्वबाट शुरु भएको आन्दोलनमा आर्थिक कठिनाइ र मूल्य वृद्धिसम्बन्धी मागहरु समावेश थिए। तर धेरै ठाउँमा यसले राजनीतिक रंग लिएको छ र आन्दोलनकारीहरुले देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी, राष्ट्रपति रुहानी र इरानको हस्तक्षेपकारी क्षेत्रीय नीतिको विरोधमा नाराबाजी गर्दै आएका छन्।

आफ्नो पछिल्लो ट्वीटर सन्देशमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तत इरानीहरु बुद्धिमान बन्दै गएको र आफ्ना सम्पत्ति र पैसा चोरी गरी आतंकवादलाई बढावा दिन खर्च गरिएको थहा पाएको बताएका थिए।

आन्दोलन शुरु भएयता पहिलो पटक प्रतिक्रिया दिँदै राष्ट्रपति रुहानीले ट्रम्पको आलोचना गरे। उनले अमेरिकी राष्ट्रपति ट्रम्प शिरदेखि पाउसम्मैु इरानको शत्रु रहेको बताए।

बीबीसी पर्सियनका कसरा नाजी भन्छन्, हाल प्रदर्शनहरु साना शहरमा फैलिरहेका छन् र यो क्रम बढ्न सक्ने देखिन्छ। उनका अनुसार आन्दोलन नेतृत्वविहीन छ किनभने इरानमा विपक्षी नेताहरुलाई या त मौन बनाइएको छ या निर्वासनमा पठाइएको छ। बीबीसीबाट