प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः माओवादी नेता सापकोटा

तत्काल राष्टिय सभा गठन गर्नुपर्नेमा जोड

भक्तपुर । नेकपा माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता सापकोटाले जनताले बामगठबन्धनलाई नयाँ सरकार गठनका लागि जनादेश दिइसकेको कारण देउवाले राजीनामा दिनुको विकल्प नरहेको बताएका हुन ।

उनले नयाँ बन्ने सरकारको नेतृत्व एमालेले गरे पार्टी नेतृत्व माओवादीले तथा सरकारको नेतृत्व माओवादीले गरे पार्टीको नेतृत्व एमालेले गर्ने बताए।

बाहिर चर्चामा आए जस्तो आलोपालो प्रथा नभई सरकार र पार्टीको नेतृत्व शिर्ष दुई नेताले स्थायी रुपमै गर्ने उनले बताए ।
उनले अहिले भइरहेको भ्रष्टाचारको एकाएक हिसाब चाहिने भन्दै भ्रष्टाचार नियन्त्रणलाई अबको सरकारले पहिलो प्राथमितामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपतिले राष्ट्रिय सभा विधेयक पारित गरिसकेको कारण अब निर्वाचन आयोगले फास्ट ट्याकबाट भएरपनि तत्काल राष्टिय सभा गठनका लागि निर्वाचन गराउन पहल गर्नुपर्ने उनको भनाइ थियो ।