आज पुस पन्ध्रः तरुल र सखरखण्ड खादैँ–रातभर जाग्राम बस्ने प्रचलन

वनका साथै बञ्चरो र डोरीको पुजा

अछाम । प्राचिनकालदेखि मध्य तथा सुदुरपश्चिमका जिल्लाहरुमा आजका दिन रातभर मुढाको आगो ताप्ने र विभिन्न कन्दमुलहरु खाएर पुस पन्ध्र पर्व मनाउने गरिन्छ ।

आजको रात लामो हुने र जाडोको सुरुवात पनि हुने भएकाले जाडोसँग जुझ्नका लागि विभिन्न कन्दमुलहरु उसिनेर खाने तथा रातभर आगो ताप्दै विभिन्न दन्त्य कथा सुन्ने र नाचगान समेत गरेर यो पर्व मनाइन्छ ।

स्थानीय सबै बुढापाकाहरु र युवाहरु आजका दिन, हरेक वर्ष एकै ठाउँमा जम्मा भई १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रमाइलो गरेर रात काट्ने गर्दछन।

रातभर बस्दा चिसो हटाउन आगो ताप्ने तथा विशेषगरी तरुल, सखरखण्ड, फर्सी र पिँडालु लगायतका कन्दमुलहरु उसिनेर आपसमा बाडेर
खाने चलन छ।

यस्ता प्रकारका कन्दमुल खाँदा जाडो भाग्ने र शरीरमा स्फुर्ति बढ्ने उनीहरुको विशवास रहेको छ । खासगरी अछाम, डोटी, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, दार्चुला लगायतका जिल्लामा पन्द्र पुस पर्व विषेश रुपमा मनाउने गरिन्छ । त्यसका साथै दैलेख, सल्यान, रुकुम, बर्दिया, कालीकोट, जुम्ला, हुम्ला लगायतका पहाडी र अन्य जिल्लाहरुमा समेत यो पर्व मनाइन्छ ।

आजका दिन सुदुरपश्चिम क्षेत्रका मानिसहरुले वनजंगलमा काम गर्दा प्रयोग गर्ने बञ्चरो, हँसियाँ, वनारो, घाँसपात, दाउरा आदी बान्ने डोरी आदिको पूजा समेत गर्छन्।

आजका दिन विशेष गरी तरुल उसिनेर खाने प्रचलन भएकाले पहाडी र तराईका जिल्लामा समेत तुरुल किन्नेको भिडभाँड लाग्ने गर्दछ । आजका लागि ब्यपारीहरुले आवश्यक पर्ने तरुलको आपूर्ति गरेका हुन्छन, यो दिन तरुलको ब्यापार बढ्ने गर्दछ ।