पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाः विभिन्न वस्तुको बिक्रि वितरण हुने

मेलाबाट बचत रकमले अत्याधुनिक गुम्बज बनाइने

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी समूहको मुख्य प्रायोजनमा पोखरामा सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला हुने भएको छ ।

‘लगानीको संवद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका उक्त मेलाको आयोजना गरिएको हो । आयोजकका अनुसार मेला पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।

पोखरामा हिजो आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत मेलाबाट बचत भएको रकमले प्रदर्शनी केन्द्रमा थप एउटा अत्याधुनिक गुम्बज बनाउने आयोजकले बताएको छ ।

मेला सम्पन्न गर्नका लापग उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष विश्वशंकर पलिखेको संयोजकत्वमा मूल आयोजक समिति र २७ सदस्यीय उपसमिति गठन गरिएको छ ।

मेलामा हस्तकला, कृषि, पुष्प, गाडी, सूचना तथा प्रविधि, सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधि, दैनिक उपभोग्य वस्तु, घरायसी र शृङ्गारका सरसामान तथा लत्ताकपडाको बिक्री वितरण गरिने आयोजकले जनाएको छ ।