आज ‘तमु ल्होसार’ पर्वः नयाँ वर्षको स्वागत, खुशीयाली साटेर मनाइदै

टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना

काठमाडौँ। आज पुस १५ गते, तमु संस्कृति अनुसार तमु ल्होसार’ पर्वको दिन । आजदेखि गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर यो पर्व मनाउने गर्दछन ।

खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम, नाचगान गरेर तमु ल्होसार पर्व मनाइन्छ । पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

तमु ल्होसार पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ । गुरुङ समाजले आज काठमाडौंको टुँडिखेलमा विशेष ल्होसारको कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, विभिन्न राजनीतिक दलका शिर्ष नेताहरु, वरिष्ट व्यक्तित्वहरुको र कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

ल्होसारको अवशरमा प्रधानमन्त्री देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी लगायतका राजनीतिक दल र विभिन्न संघ संस्थाहरुले शुभकामना व्यक्त गरेका छन ।

‘तमु ल्होसार’ पर्वसँग सम्बन्धीत रहेर यसको अर्थ खोतल्दा ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु अथार्त आजका वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजमा बुझाई रहेको छ । यस पर्वलाई नयाँ वर्षको स्वागत गर्ने दिनका रुपमा लिन सकीने गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले बताए ।

गुरुङ जातिको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ का दिनमा ‘तमु ल्होसार’ पर्व मनाउने गरिएको भनाई रहेको छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङ समुदायका मानिसहरुको विश्वास छ।

तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा आजदेखि पछि क्रमशः सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले पनि ल्होसार पर्व मनाइने गरेको विश्वास गरिन्छ ।