राष्ट्रपति भण्डारीको कदमलगत्तै एमाले अध्यक्ष ओलीले दिए यस्तो प्रतिक्रिया

गठबन्धनको बहुमतको सरकार बनाउने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाट आज जारी भएको अध्यादेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल पर्वतारोहण संघको २७ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले अध्यादेशबारे असन्तुष्टि व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने–“अध्यादेश आएकोमा हाम्रो असहमति छ, यो अनुचित ढंगले चौतर्फी दबाबबाट आएको अध्यादेश आफैं असंवैधानिक छ, राष्ट्रपतिको कदम भने असंवैधानिक होइन ।”

पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएर आगामी सरकारको नेतृत्व लिने अवस्थामा वर्तमान सरकारले नेतृत्व हस्तान्तरण गर्न आलटाल गरिरहेको टिप्पणी गर्दै आफूहरुले अध्यादेशलाई थप मुद्दा भने नबनाउने स्पष्ट पारे ।

नेता ओलीले भने, “हामी गठबन्धनको बहुमतको सरकार बनाउछौँ, देशमा सुशासन कायम र भ्रष्ट्राचार नियन्त्रण, सामाजिक सद्भाव कायमका साथ राष्ट्रिय एकता, शान्ति र स्थायित्व ल्याई लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्नेछौँ ।”

फरक प्रसंगमा अध्यक्ष ओलीले जनमतबाट सत्ता हस्तान्तरणको संघारमा पुगेको वर्तमान सरकारले गरेको महत्वपूर्ण निर्णय र नियुक्तिलाई आगामी सरकारले ‘मेकअप’ कमी पूरा गर्ने गर्ने धारणा राखे ।

नेता ओलीले अब बन्ने नयाँ सरकारले दुवै छिमेकी मुलुक (भारत र चीन) सँगको सम्बन्धलाई समान रुपमा पारस्परिक लाभको नीतिका आधारमा अघि बढाउने बताए ।

कार्यक्रममा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक कार्यसूची पूरा भइसकेकाले अब चाँडो आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले संविधान निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेलेको काँग्रेसले मुलुकको समृद्धिको चाहनालाई साकार पार्न अब प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गरे । रासस