राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा प्रमाणीकरण

अब नयाँ सरकार गठनको बाटो खुल्यो

काठमाडौँ । सरकारले कात्तिक पहिलो साता पेश गरेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन ।

राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँग नयाँ सरकारको बाटो खुलेको छ । दलहरुबीच सरकार गठनको विषयमा भएका छलफलहरु निष्कर्षतिर जाने विश्वास यसले बढाएको छ ।

राजनीतिक दलबीचमा देखिएका विवाद मिलेपछि उक्त अध्यादेश प्रमाणीकरण भएकाले अब सरकार गठनको कार्यले सहजता पाउन सकिने देखिएको हो । श्रोतका अनुसार राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश पनि दलिय विवाद मिलाएरै राष्ट्रपतिले आज प्रमाणीकरण गरेकी हुन ।

राष्ट्रपति भण्डारीले राजनीतिक सहमति जुटाउन पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग संवाद गरेकी थिइन ।

उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण भएको जानकारी दिएका छन ।

राष्ट्रपतिको चाहना सबै राजनीतिक दलको सहमति होस् भन्ने भए पनि पछिल्लो राजनीतिक गत्यावरोधलाई अन्त्य गर्ने ध्येयले उक्त अध्यादेश प्रमाणीकरण गर्नुभएको प्रमुख स्वकीय सचिव अधिकारीको भनाइ छ ।