अख्तियारको नजर यातायात कार्यालयमाः विदेशीलाई लाईसेनस दिएको आरोपमा प्रमुख र अधिकृत खोरमा

यातायातमा भेटिए दूतावासको सर्टिफिकेट तथा सिफारिसपत्र

काठमाडौँ । यातायात कार्यालय सुकेधाराका प्रमुख र एक शाखा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा विदेशी अनुमतिपत्र (लाइसेन्स) लाई नेपालीकरण गर्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।

विदेशको सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गर्ने ग्रैर कानुनी धन्दामा संलग्न भएको आरोपमा यसअघि पक्राउ परेका यातायातका कर्मचारीले दिएको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसनर अनुसन्धानको सन्दर्भमा भैरहेको छानबिनको निरन्तरताका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायता कार्यालयका प्रमुख उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत यामलाल ढकाललाई हिजो बिहान कार्यालयबाटै पक्राउ गरेको थियो ।

अख्तियारले यातायात कार्यालयको निरीक्षण तथा खोजी गर्ने क्रममा दूतावासको सर्टिफिकेट तथा सिफारिसपत्र फेला पारेको थियो, त्यसको अनुसन्धनका लागि पक्राउ परेकाले दिएको बयानका आधारमा उनीहरुलाई पनि पक्राउ गरिएको आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयले बताएका छन।

यातायात कार्यालयको निरीक्षणबाट आयोगले सर्टिफिकेट र सिफारिसपत्र ठूलो मात्रामा फेला पारेको र त्यसको छानबीन भैरहेको अख्तियारले जनाएको छ । उक्त गैह्र काममा भट्टराई र ढकालको संलग्नता लगायत विषयमा अनुसन्धान गरिरहेको अख्तियारको भनाई छ ।

छानबिनका आधारमा विभागले कार्यालय प्रमुख भट्टराई र शाखा अधिकृत ढकाल अनियमिततामा संलग्न भएको निष्कर्षसहित जिम्मेवारी मुक्त गरेको जानकारी बुधबार नै दिएको थियो ।

अख्तियारले साउदी अरबियाको सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि यातायात कार्यालय सुकेधारामा कार्यरत नायव सुब्बा यादव पौडेल र खरिदार सुमन पोखरेललाई आइतबार घुससहति रंगेहात नियन्त्रणमा लिएको थियो ।