छोराको दुर्घटनाको खबरले बुवा बेहोसः उपचारका क्रममा दुबैको निधन

एमाले र माओवादी केन्द्रद्धारा दुख ब्यक्त

अर्घाखाँची । अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गर्दा रुपन्देहीको सैनामैना नगरपालिकाको रानीबगीयाँमा दुध बोक्ने गाडीले चौवान सवार मोटरसाइकललाईगत मंसिर २६ गते ठक्कर दिएपछि उपचारको क्रममा रहेका मालारानी–३ का वडा अध्यक्ष जीवन चौवानको हिजो विहान निधन भएको छ ।

दुर्घटनामा परी घाइते भएका ५५ वर्षीय चौवानको उपचारको क्रममा हिजो विहान पाँच बजेतिर निधन भएको हो । उनको उपचारभरतपुर मेडिकल कलेज चितवनमा भैरहेको थियो ।

वडा अध्यक्षमा निर्वाचित चौवानको दुर्घटनाबाट टाउकोमा गम्भिर चोट लागेको थियो । उनलाई घटनापछि मंसिर २७ गते नै भरतपुर लगेर उपचार गरिएको थियो ।

चौवान वि.सं २०५४ को स्थानीय निकायको निर्वाचनमा खनदह गाउँ विकास समितिको अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनले नेकपा एमालेको ईलाका कमिटी सचिवको जिम्मेवारी समेत सम्हालेका थिए ।

छोरा चौवानको दुर्घटनाको खबर सुनेलगत्तै मंसिर २६ गते अचेत बनेका उनका ७६ वर्षीय बुवा तक बहादुर चौवान पनि उपचारकै क्रममा अस्पतालमा रहेका थिए । उनको उपचारको क्रममा गत मंसिर २८ गते निधन भएको थियो ।

उनको आमाको २ वर्षअघि नै निधन भइसकेको र परिवारमा उनका दुई छोरा, दुई छोरी र श्रीमती मात्र रहेका छन् । उनको निधनपछि एमाले र माओवादी केन्द्रको जिल्ला कमिटीले दुःख व्यक्त गरेको छ ।