कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दैः आजै समानुपातिक संसदको नाम टुंगो लगाउने तयारी

राष्ट्रियसभा गठन र अध्यादेशका विषयमा पनि छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभातर्फ समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदको नाम टुंगो लगाउन कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

निर्वाचन आयोगले दलहरुलाई निर्वाचित हुनलाई छानिने उम्मेदवारको अन्तिम नामवली बुझाउनका लागि अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

आजको कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूचीबाट उम्मेदवारको अन्तिम नाम छनोट गर्ने बताइएको छ । कांग्रेसले समानुपातिक प्रदेशसभा संसदहरुको नाम आजै आयोगलाई नामवलीसहितको पत्र पठाउने जनाएको छ।

निर्वाचनपछि पहिलोपटक बस्न लागेको कांग्रेस कार्यसम्पादन समिति बैठकमा राष्ट्रियसभा गठन, अध्यादेश, पछिल्लो राजनीतिक अवस्थामा पार्टीको आधिकारीक धारणा निर्माण लगायतका विषयमा पनि छलफल गर्ने बताइएको छ ।

सात प्रदेशमा समानुपातिकतर्फ कुल २ सय २० स्थानमा एमालेले ७५, नेपाली कांग्रेसले ७२, नेकपा माओवादी केन्द्र ले ३५, संघीय समाजवादी फोरम नेपालले १३ र राष्ट्रिय जनता पार्टी नेपालले १२ सिट लिएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, विवेकशील साझा पार्टीले ३, राष्ट्रिय जनमोर्चाले २, नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले एक एक सिट पाएका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले शनिबार पत्राचार गरेको थियो ।