खोटाङको खानीडाँडा विमानस्थल आसपास वृक्षारोपण

बृक्षारोपणले भू–क्षय नियन्त्रण हुने अध्यक्षको दावी

खोटाङ । पहिरोको उच्च जोखिममा परेको खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल आसपासमा वृक्षारोपण गरिएको छ ।

सामुदायिक वन दिवसको अवसर पारेर रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा रहेको खानीडाँडा विमानस्थल आसपासमा विहिबार विभिन्न प्रजातिका बिरुवा लगेर वृक्षारोपण गरिएको हो ।

माटो कटान र भू–क्षय नियन्त्रणका लागि विमानस्थल आसपासमा तेजपात, रिट्ठा, टाँकी, बडहर, सल्ला लगायतका बिरुवा रोपिएको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।

वर्षाका कारण माटो कटान हुँदा खानीडाँडा विमानस्थल पहिरोको उच्च जोखिममा परेको छ, उनले भने-‘पहिरोको उच्च जोखिममा परेको विमानस्थलको माटो कटान नियन्त्रण तथा सुन्दरताका लागि वृक्षारोपण गरिएको हो ।’

विमानस्थलनजिक रहेको भालासिरुवानी सामुदायिक वनको संरक्षणमा ध्यानाकर्षणका लागि समेत वृक्षारोपण गरिएको महासङ्घले जनाएको छ ।

लगातार परेको वर्षाका कारण धावनमार्गमाथि बाट बगेको भलपानीले विमानस्थल पहिरोको जोखिममा परेको हो ।

धावनमार्ग मुनिबाट बनाइएको ढल थुनिएपछि धावनमार्ग हुँदै बगेको भलबाढीले विमानस्थलको दक्षिणी भाग भत्किएको
छ । विमानस्थलको छेउबाट शुरु भएको पहिरो अहिले कालोपत्र गरिएको धावनमार्गदेखि करिब दुई÷तीन मिटरनजिक पुगिसकेको छ ।

विभिन्न दातृ निकायको आर्थिक सहयोगमा उपभोक्ताले निर्माण गरेको विमानस्थल गुणस्तरहीन रहेको यसअघि नै गुनासो आएको थियो । दुई वर्षअघि मात्र कालोपत्र गरिएको विमानस्थल पहिरोको जोखिममा परेपछि जिल्लावासी चिन्तित बनेका छन् । रासस