२ नम्बर प्रदेशमा सबैभन्दा बढि सिट फोरमले जित्ने सम्भावना प्रवल

कार्यकर्ताहरुलाई सक्रिय रुपमा थनावी तयारीमा लाग्न आग्रह

महोत्तरी । संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईले प्रदेश नं २ मा सबैको सक्रिय सहभागितामा स्थानीय तहको तेस्रो चरणको चुनाव हुने बताएका छन् ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि महोत्तरीको जलेश्वरमा आउनुभएका नेता राईले पत्रकार भेटघाटका क्रममा आज प्रदेश नं २ मा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रका साथै मधेशवादी दलसहितको सक्रिय सहभागितामा चुनाव हुनमा जोड दिएका छन् ।

उनले मधेशवादी दल संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकका साथै राष्ट्रिय जनता पार्टी नेपालसहितको सहभागितामा चुनाव हुनेमा विश्वस्त रहन आग्रह गरेका हुन ।

नेता राईले तथा मधेश र मधेशीको हक अधिकारकै लागि भए पनि राजपा चुनावबाट बाहिर नरहने चर्चा गरे । उनले राजपाको अधिकतम माग पूरा गर्न सरकार तयार भएको र राजपाले आफूहरुसँग पनि चुनावमा जाने पक्का भएको भन्दै तेस्रो चरणको चुनावमा राजपा पनि सहभागी हुनेमा कुनै दुविधा नराख्न सुझाव दिए ।

पत्रकारहरुको एक प्रश्नको जवाफमा नेता राईले आफ्नो पार्टीले दोस्रो चरणको चुनावमा व्यापक प्रचारप्रसार गर्न नसक्दा अपेक्षा गरेको जति नतिजा नआएको बताउँदै तेस्रो चरणको चुनावका लागि आफ्ना कार्यकर्तालाई सक्रिय भएर चुनावी तयारीमा लाग्न सल्लाह दिए । उनले यसपटकको चुनावमा आफ्नो पार्टीले अधिकतम स्थान जित्ने दाबी गरे । रासस