वरिष्ठ नेता पौडेलद्वारा हज टोलीलाई बिदाइ

आठ दिन पैगम्वर मोहम्मदको समाधिस्थल मदिनामा बस्ने

काठमाडौँ । साउदी अरबको मक्कामा हज गर्न गएको नेपाली मुसलमान टोलीलाई आज बिदाइ गरिएको छ ।

केन्द्रीय हज कमिटिको नेतृत्वमा हर्ज गर्न साउदी अरबको मक्कामा जान लागेको टोलीलाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज विहान बिदाइ गरेका हुन ।

मुसलमान समुदायको चारधाम जाने परम्पराअनुसार १३ जिल्लाका १२९ जना मुस्लिम मक्का प्रस्थान गरेका छन् । कूल ४३ दिनसम्म चल्ने कार्यक्रममा भाग लिन काठमाडौँका ६०, सुर्खेतका तीन, पर्वत दुई, तनहुँ १२, दाङ आठ, कास्की चार, गोरखा १३, चितवन दुई, अर्घाखाँची ७, पाल्पा ५, स्याङ्जा ९, मकवानपुर दुई र कैलालीका दुईजना त्यसतर्फ प्रस्थान गरेका छन ।

नेपाल मुस्लिम संघका उपसभापति हाजी रफिक मियाँले मक्का र मदिनाको भ्रमण पूरा गरेपछि कुनै पाप नलाग्ने धार्मिक परम्पराअनुसार उक्त क्षेत्रको भ्रमण गर्न लागेको जानकारी दिए ।

उनले हाजी टोली ३५ दिन मक्का र आठ दिन पैगम्वर मोहम्मदको समाधिस्थल मदिनामा बस्ने कार्यक्रम रहेको बताए ।

नेपालबाट हज गर्न जान लागेका कुल एक हजार २०८ जनामध्ये आज १२९ र दिनदिनै भदौ २ गतेसम्म त्यसतर्फ टोली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । रासस