अख्तियारद्धारा पक्राउ गरिएका महानिर्देशक शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दाको फैसला भोली हुने

आयोगका काममा अख्तियार छिर्न मिल्ने वा नमिल्ने, सर्वोच्चले स्पष्ट पार्ने

काठमाडौ‌ं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दाको फैसला सर्वोच्चले भोली गर्ने भएको छ ।

महानिर्देशक शर्मामाथि आयोगको कामकारबाहीको सन्दर्भलाई लिएर अख्तियारले पक्राउ गर्न मिल्छ वा मिल्दैन भन्ने विषयमा लामो समयदेखि भैरहेको अदालती वहसको निचोड भोली आउने भएको हो ।

सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसे, शारदाप्रसाद पण्डित, दीपकराज जोशी, दीपककुमार कार्की र अनिलकुमार सिन्हाको इजलासले उक्त बन्दी प्रत्यक्षीकरण मुद्दाको निर्णय भोली सुनाउने मिति तोकेको छ।

शर्माविरुद्ध कर हिनामिना आरोपमा परेका मुद्दाबारे भोलीको सर्वोच्चको फैसलापछि मात्र अख्तियारले अघि बढाउन मिल्ने वा नमिल्ने विषयमा टुङ्गो लाग्ने बताइएको छ ।

महानिर्देशक शर्मा कर फछ्र्योट समितिमा रहेको बेला अधिकारको चरम दुरुपयोग गरेको भन्दै पत्रपत्रिकाहरुले समाचार प्रकाशन गरेपछि अख्तियारले उनलाई कार्यालय हाताबाटै पक्राउ गरि अनुसन्धान थालेको थियो ।

उक्त बन्दी प्रत्यक्षीकरण रिटमा जटिल संवैधानिक विषयान प्रश्न उठेको भन्दै साउन ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले त्यसलाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो ।