आठ देशका प्रहरी नेपालमाः मानव तस्करको जालो तोड्ने खतरनाक रणनीति बन्दै

मानव तस्कर सम्बन्धी अनुसन्धानका लागि विशेष ब्युरो गठन गर्ने गृहको तयारी

काठमाडौं । पछिल्लो चरणमा नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउँदै मानव तस्करी, आगु औषध र अन्य अपराध सम्बन्धी घटनाहरु भएको भन्दै त्यसको रोकथामको विषयमा रणनीति बनाउन भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड, फिलिपिन्स र बर्माका प्रहरी अधिकारीहरु नेपाल पुगेका छन।

आठ देशका प्रहरी अधिकारीहरु र सरोकारवाला अन्य सरकारी निकायहरु समेत सहभागि रहेको उक्त बेठकले मानव तस्करको जाँलो तोड्ने रणनीति बनाउँदै सिंगापुरमा रहेको इन्टरपोलको क्षेत्रीय कार्यालय र इन्टरपोल नेपालको समन्वयमा प्रोजेक्ट रिलेअन्तर्गत नेपालमा बसेर त्यो विशेष अप्रेशन गर्ने तयारी गरेका छन ।

मानव तस्करी रोक्नका लागि भैरहेको छलफलमा नेपालको तर्फबाट अध्यागमन विभाग, भन्सार विभाग, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, बिमानस्थल सुरक्षा प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रतिनिधि समेत सहभागी छन।

प्रहरी प्रवक्ता पुष्कर कार्कीले गैरकानुनी ढंगले आवागमन गर्ने विदेशी नागरिकको पहिचान र नेपालबाट बाहिरिने मानिसहरुको उच्च निगरानी, चेकिङ्ग गर्ने र मानव तस्करको जाँलो तोड्ने अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रीत भएको हरपल नेपालसँग बताएका छन ।

प्रहरी प्रवक्ता कार्कीले भने–‘वैदेशिक रोजगारी प्रकृयाबाट युरोप, अमेरिका र खाँडी मुलुक पठाउँने र त्यो ढंगले पनि नेपाली नागरिकको तस्करी हुने क्रम बढ्दो छ। यसैगरी युरोप छिर्न चाहने अफ्रिकी मुलुकका नागरिकहरुले समेत नेपाललाई ट्रान्जिट बनाउने गरेको खुल्न आएको छ, हामी ति विषयमा अत्यन्त सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौ ।’

उक्त छलफलमा इन्टरपोल नेपालले आप्रवासी तस्करीको अपराध सञ्जाल तोड्न डाटाबेस तयार गर्ने सहमति भएको समेत प्रहरी प्रवकता कार्कीले जनाएका छन । त्यसैगरी रोजगारीको आवरणमा मानव तस्करीका घटना बढेको विषय सार्वजनिक भएपछि गृह मन्त्रालयले त्यसको अनुसन्धानका लागि विशेष ब्युरो गठन गर्ने तयारी गरिरहेको छ ।