काठमाडौंमा स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु

स्वाइनफ्लु रोकथामका लागि मन्त्रालय प्रतिबद्ध

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनपफ्लु) का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

उनले एकजना चिकित्सकहरुलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताएको हो ।

मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघारोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सञ्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गरे ।

बैठकमा सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले विधेयक तयार गर्दा कार्यपालिकाले हस्तक्षेप नगर्न आग्रह गरे ।

उनले संसद्को प्रक्रिया र मर्यादालाई पालन गर्नेतर्फ संसद्ले बोल्नुपर्ने धारणा राख्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रीले भने–‘आगामी दिनमा संसद्को मर्यादा राख्न सभामुखबाट रुलिङ हुनुपर्छ ।’

सभामुख ओनसरी घर्तीले साउन २२ गतेको बैठकमा सो विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरिन । रासस