उत्तर कोरियाद्धारा अमेरिकी हवाई अखडामा आक्रमणको खतराः रकेट प्रहार गर्ने योजना

विश्वले अहिलेसम्म नदेखेको भीषण गोलाबारीबाट जवाफ दिने ट्रम्पको चेतावनी

उत्तर कोरिया । उत्तर कोरियाले पश्चिम प्रशान्त क्षेत्रको गुआमस्थित अमेरिकी हवाई फौजको एन्डरसन अखडा वरपर ब्यालिष्टिक क्षेप्यास्त्र प्रहार गर्ने काम गरिरहेको छ।

उत्तर कोरियाको औपचारिक समाचार एजेन्सीका अनुसार–नेता किम जोङ अनले निर्णय गर्ने वित्तिकै जुनसुकै समयमा पनि अमेरिकाको रणनीतिक सैन्य आधारमा उक्त कारवाही शुरु हुनसक्ने बताएका छन ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्योङयाङलाई उनकै शब्दमा क्रुद्ध र सशक्त कारवाही गर्ने धम्की दिएको केही घण्टामा उत्तर कोरियाको यो भनाइ आएको हो।

उत्तर कोरियाको औपचारिक समाचार एजेन्सीले भनेको छ, अमेरिकी रणनीतिक बम विमानहरु राखिएको अखडा रहेको गुआम वरपर मध्यमदेखि लामो दूरिको रकेट प्रहार गर्ने योजनामा काम भइरहेको छ।

संयुक्त राष्ट्र संघले हालै उत्तर कोरियामाथि थप आर्थिक नाकाबन्दी लगाउने प्रस्ताव अनुमोदन गरेको थियो। अमेरिकी मिडियामा उदृत गरिएका गुप्तचर अधिकारीहरुको विश्वास छ, उत्तर कोरियाले उसको ब्यालिष्टिक क्षेप्यास्त्रमा जडान गर्ने मिल्ने आकारको आणविक अंश विकास गरेको छ।

उत्तर कोरियाले जुलाइमा दुईवटा अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि यी दुई मुलुकहरुबीच द्वन्द्व चुलिएको छ।

ट्रम्पले सञ्चारकर्मीसँग मंगलबार भने–‘उत्तर कोरियाले अमेरिकालाई थप धम्की नदिनु राम्रो हो । उनीहरुले त्यसको जवाफ विश्वले अहिलेसम्म नदेखेको भीषण गोलाबारीबाट पाउनेछन्।’ (बिबिसीबाट)