महासंघले सुरज आचार्यलाई सुनपानी छर्केर चोख्याउन खोज्यो: युनियन

समाचार प्रकाशित गरकै आधारमा अनुसन्धान ब्युरोको टोलीलाई परिचालन

काठमाडौं । नेपाल प्रेस युनियनले पत्रकार महासंघका केन्द्रीय सदस्य सुरज आचार्यबारेमा सार्वजनिक गरेको प्रतिवेदनप्रति ध्यानाकर्षण गरेको छ ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले आज एक विज्ञप्ति जारी गरी महासंघले सार्वजनिक गरेको छ बुँदे प्रतिवेदनले आरोपित आचार्यलाई सुनपानी छर्केर चोख्याउने प्रयास गरिएको हो ।

महासंघको प्रतिवेदनमा परिस्थितिजन्य कारण र दबाबमा परी ग्यारेजमा कुरा गरेको बताए पनि त्यो के परिस्थिति र दबाब हो भन्ने कुरा नगरी अमूर्त नै राखिएकाले यसमा संलग्नलाई समेत महासंघले उन्मुक्ति दिन खोजेको युनियनले जनाएको छ ।
नेपाली पत्रकारितालाई नै लज्जित बनाउने यो घटनाको निष्पक्ष र स्वतन्त्र छानबिनका लागि युनियनले महासंघलाई पुनः आग्रह गरेको छ ।

साथै, पत्रकारको आचारसंहिताको अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपाललाई पनि यस विषयमा तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित प्रकाशित एक समाचारको विषयमा न्यूज अभियान डटकममा अख्तियारले प्रहरी परिचालन गरी मानसिक तनाब दिएको भन्दै दुःख व्यक्त गरेको छ ।

युनियनले आज एक विज्ञप्ति जारी गरी आयोगका गतिविधि र कारबाहीका बारेमा समाचार प्रकाशित गरेकै आधारमा अख्तियारले केन्द्रीय अनुसन्धान ब्युरोको टोलीलाई परिचालन गरी कार्यालयमा छापामार शैलीमा गएर समाचारको प्रमाण माग्दै धम्क्याएको भन्दै आपत्ति जनाएको हो । रासस