पैसा अभावमा उपचार गर्न नसकेपछि गाउँपालिकाका अध्यक्षले गरे सहयोग

जाजरकोट । जुनी चाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बिरामीलाई रु २० हजार सहयोग गरेका छन् ।

गाउँपालिका वडा नं १ की भीमसरा खड्काको भाँचिएको खुट्टाबाट रड निकाल्ने रकम नहुँदा समस्यामा परेको थाहा पाएपछि उनले सोमबार सो सहयोग गरेको बताएका हुन ।

केसीको सहयोग पाएपछि आर्थिक अभावमा समस्यामा परेकी भीमसराले अस्पताल गएर रड निकाल्ने तयारीमा रहेको बताए ।

पैसा नहुँदा घरमा रहेको एक हल गोरु बिक्री गर्ने तयारीमा रहेकी खड्का अब सो रकम पाएपछि खुसी हुँदै सहयोगीका साथमा नेपालगञ्जतर्फ लागेकी छन् ।

मतदातालाई धन्यवाद दिँदै गाउँगाउँमा पुगेका केसीले बिरामीको समस्या देखेपछि सो रकम सहयोग गरेको बताए । रासस