केन्यामा कडा सुरक्षामाझ चुनाव हुदैँः मतदाताहरुलाई धम्की र हिंसा अस्वीकार गर्न राष्ट्रपतिको सुझाव

एक लाख भन्दा बढी सुरक्षाकर्मी परिचालन

केन्या । केन्यामा मंगलबार हुन गइरहेको आमचुनाव अघि जसले जित हात पारे पनि देश एकताबद्ध हुनुपर्ने राष्ट्रपति उहुरु केन्याटाले बताएका छन्।

मतदान सुरु हुनु भन्दा केही घण्टा अघि टेलिभिजनमा सम्बोधन गर्दै आदिवासी किकुयु जातिका नेता एवं राष्ट्रपतिले त्यस्तो बताएका हुन । उनले मतदाताहरुलाई धम्की र हिंसा अस्वीकार गर्न सुझाव समेत दिएका छन।

उनका चिर प्रतिद्वन्द्वी राइला ओडिङ्गा लुओ जातिय समूहसँग सम्बन्धित छन् र उनले चुनावमा धाँधली हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनले चुनावमा एक लाख भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेर मतदाताहरुलाई तर्साउन खोजिएको आरोप लगाएका छन ।

केन्याको चुनावमा जातीयता प्रमुख मुद्दा रहने गरेको छ र धेरै मतदाताहरुले साम्प्रदायिक आधारमा मतदान गर्ने गरेका छन् । बेला बेलामा त्यहाँ हुने गरेका राजनीतिक हिंसामा पनि मानिसहरुलाई उनीहरुको जातीय पृष्ठभूमिका आधारमा निसाना बनाइने गरेको आरोप लाग्ने गरेको छ।

केन्यामा शान्तिको आह्वान गर्दै भइरहेको अन्तर्राष्ट्रिय पहलको पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले नेतृत्व लिइरहेका छन् ।

पूर्व अमेरिकी विदेशमन्त्री तथा अन्तराष्ट्रिय पर्यवेक्षण समूहका सह नेता जन केरीले मंगलबार मतदान सकिएको केही घण्टा भित्रै जनताले चुनावको परिणाम थाहा पाउने बताएका छन। (अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)