तोकिएकै मितिमा निर्वाचनको तयारी गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

दुई चरणमा निर्वाचन गराउँदा सहजहुने आयोगको सुझाब

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी दुई ऐन संसद्मा पारित हुने प्रकृयामा रहेको र क्षेत्र निर्धारण आयोगले तोकिएकै मितिमा सरकारलाई प्रतिवेदन बुझाउने जनाउँदै निर्वाचन आयोगलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन ।

प्रधानमन्त्री देउवाले चुनावको खर्च कम गर्न र तोकिएकै समयमा चुनावको तयारी थाल्न आग्रह गर्दै आयुक्तहरुसँगको कुराकानीका क्रममा त्यस्तो बताएका हुन् ।

निर्वाचनको मितिबारे अन्यौलता बढेको भन्दै प्रधानमन्त्रीलाई भेट्न हिजो उनको निवास पुगेका निर्वाचन आयोगका आयुक्तहरुले भदौ १ गतेभित्र मिति घोषणा गर्न आग्रह गरेका छन ।

भेटका क्रममा निर्वाचन आयोगका आयुक्तहरूले समयमै निर्वाचनसम्बन्धी कानुन र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन दिन प्रधानमन्त्रीलाई अनुरोध गरे । त्यसको विषयमा जवाफ दिदै प्रधानमन्त्रीले प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन समयमै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै चरणमा सम्पन्न गर्ने बताउँदै आएको भएपनि निर्वाचन आयोगले भने दुई चरणमा गर्दा व्यवस्थापकीय हिसाबले सहज हुने तर्क गरेको छ ।

आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने भए सरकारले त्यसको आधारभूत तयारी समयमै गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

एकै चरणमा दुबै निर्वाचन गर्नका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने सल्लाह आयुक्तहरुले दिएका छन । उनीहरुले भदौ १ गतेभित्रै निर्वाचनको मिति घोषणा गर्न आग्रहसमेत गरेका छन ।

आयोगले यसअघि प्रदेशसभाको असोज अन्तिम र प्रतिनिधिसभाको मङ्सिरको पहिलो साता निर्वाचन गर्नका लागि मिति प्रस्ताव गरेको थियो ।

प्रधानमन्त्रीसँगको उक्त भेटमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा नेपाल सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री र आयोगका सचिव महेश्वर न्यौपाने सहभागी थिए ।