खोटाङमा हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेको कुलाभञ्ज्याङस्थित शिवथान प्राविको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ ।

गत चैत १९ गते आएको हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या भएको हो । छाना उडाएपछि बहुकक्षा शिक्षणको माध्यमबाट पाल टाँगेर कक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापक प्रकाश फुयाँलले बताएका हुन ।

वर्षात्को समय भएकाले दैनिकजसो पानी पर्दा ठूलो समस्या सिर्जना भएको छ । उनले भने–‘मर्मतका लागि विद्यालयमा आर्थिक स्रोत नभएपछि बाध्य भएर पालमुनि पठनपाठन गरिरहेका छौँ ।’

विद्यालय मर्मतका लागि जिल्ला शिक्षा कार्यालय खोटाङबाट रु २५ हजार रकम आएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । गत २०७२ सालमा गएको भूकम्पले समेत सो विद्यालयलाई क्षति पु¥याएको थियो ।

भूकम्पले क्षति पु¥याएपछि सामान्य मर्मत गरेर पठनपाठन सञ्चालन गर्दै आएको विद्यालयको छाना हावाले उडाएपछि थप समस्या भएको छ । कक्षा पाँचसम्म पढाइ हुने विद्यालयमा ६२ जना विद्यार्थी अध्ययनरत छन् ।

पछिल्लो समय लगातार परेको वर्षाका कारण छाना उडाएको विद्यालय भवनको गाह्रोसमेत भत्कने अवस्थामा पुगेको जनाइएको छ ।

यस वर्ष उक्त विद्यालयमा छाना नहालिएको खण्डमा अर्को नयाँ भवन निर्माण गर्नुपर्ने अवस्था हुने व्यवस्थापन समितिका अध्यक्ष विशाल राईले बताए । रासस