डोक्लाम तनावमा पूर्णरुपमा तटस्थ रहने नेपालको रणनीति

सुरक्षाका दृष्टिले गम्भीर चासो

काठमाडौं । चीन–भारत सीमा क्षेत्रको तनावमा नेपालले पूर्णरूपमा तटस्थ रहने रणनीति लिएको छ । चीन–भारतबीच सन् १९६२ मा सीमायुद्ध हुँदा पनि नेपाल तटस्थ बसेको थियो । अहिले पनि दुई छिमेकी बीचको तनावमा सोही रणनीति अख्तियार गरेको छ ।

चीन, भुटान र भारतबीच डोक्लाम क्षेत्रमा देखिएको तनावमा नेपालले कुनै पक्षको समर्थन गरेको छैन । भारत र चीनबीचको सीमा विवाद शान्तिपूर्ण रूपमा समाधान होस् भन्ने पक्षमा नेपाल रहेको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताए ।

डोक्लाममा देखापरेको चीन–भारत सीमा विवादमा नेपालको स्पष्ट नीति छ । यो विषय शान्तिपूर्ण कूटनीतिक तरिकाले वार्ताको माध्यमबाट समाधान होस् भन्ने चाहन्छौं । नेपालको दृष्टिकोण यही होु, महराले सोमबार मन्त्रालयमा पत्रकारसँग भने ।महराले भारत र चीनबीच युद्ध होस् र युद्धको माध्यमबाट समास्याको हल खोजियोस् भन्ने पक्षमा नेपाल नरहेको स्पष्ट पारे।

उनका अनुसार भारतीय वा चिनियाँ उच्चाधिकारी नेपाल आउँदा वा नेपालका उच्च पदाधिकारी भारत या चीन जाँदा डोक्लाम तनावबारे कुराकानी नगर्ने नीति सरकारले लिएको छ ।ुप्रधानमन्त्रीको ७ भदौदेखि ११ गतेसम्मको भारत भ्रमणमा डोक्लाम मुद्दामा छलफल हुँदैन । त्यस्तै, चिनियाँ उपप्रधानमन्त्री यहाँ आउँदा पनि त्यसबारे हामी कुरा गर्दैनौँ । यो विवादमा हामी कसैको पक्ष लिँदैनौ–महराले भने ।

भारत र चीनले डोक्लाम मुद्दामा नेपालको समर्थन खोज्न सक्ने आशंका व्याप्त रहेका बेला मन्त्री महराले भने, हामीलाई भारत र चीनले आफ्नो पक्षमा तान्न खोजेको भन्ने कुरा गलत हो । भारत र चीन दुवैले हामीलाई आफ्नो पक्षमा आउन दबाब दिएका छैनन् ।

महराले चीन र भारतबीचको विवादमा के पोजिसन लिने भन्ने निर्णय नेपाल आफैंले लिने बताए ।परराष्ट्रमन्त्री महराका अनुसार सरकारले चीन र भारतबीच डोक्लामबारे देखिएको तनावबारे काठमाडौंस्थित चिनियाँ र भारतीय राजदूतसँग चासोचाहिँ व्यक्त गरिसकेको छ । मैले यहाँस्थित चिनियाँ र भारतीय राजदूतसँग डोक्लममा उत्पन्न तनावबारे कुराकानी गरेको छु । उहाँहरूसँग के कुरा गरें त्योचाहिँ तत्काल भन्न उपयुक्त हुँदैन, महराले भने ।

भारत–चीनबीचको सीमा विवाद शान्तिपूर्ण रूपमा समाधान होस् भन्ने पक्षमा नेपाल छ । कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री चीन र भुटानबीच लामो समयदेखि स्वामित्व विवाद रहँदै आएको डोक्लाम क्षेत्रमा चीनले निर्माण गरिरहेको सडक निर्माणमा भारतले सैनिक हस्तक्षेप गरी अवरोध पुर्‍याएपछि उत्पन्न तनाव दुई महिना पुग्नै लाग्दा दुई मुलुकबीच सीमा युद्ध हुने आकलन भइरहेको छ । यसबीचमा चीन र भारतबीच एकआकसमा वाक्युद्ध जारी छ ।

चीनले डोक्लाम क्षेत्रबाट भारतीय सैनिक तत्काल हट्नुपर्ने अडान राखेको छ । चिनियाँ सरकारी समाचार माध्यमले डोक्लामबाट भारतीय सैनिक नहटे सैन्य अपरेसन गर्न चीन बाध्य हुने चेतावनी पनि दिएका छन् ।चीनले डोक्लाम आफ्नो भूभाग रहेको र त्यहाँ आफूले सडक बनाएकोमा भारतले अवरोध पुर्‍याएर चीनको सार्वभौमिकता र अखण्डताविरुद्ध काम गरेको आरोप लगाएको छ । चीनले आफू र भुटानबीच डोक्लामलगायत सीमा क्षेत्रको विवाद मिल्नै लाग्दा भारतले सैनिक हस्तक्षेप गरी समस्या खडा गरेको आरोप लगाएको छ । उसले भुटानको सार्वभौमिकतामा भारतले गम्भीर हस्तक्षेप गरेको समेत तर्क गरेको छ ।

भारतले डोक्लाम क्षेत्र भुटानको भूमि रहेको र त्यस क्षेत्रमा चीनले सडक बनाएर भुटानको भौगोलिक अखण्डतालाई उल्लंघन गरेको भारतीय दाबी छ । भारतले भुटानको आग्रहअनुसार आफ्ना सेना परिचालित भएको दाबी गरेको छ । तर, चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भारतले भनेजस्तो भुटानले भारतलाई डोक्लाममा सहयोग गर्न नभनेको बरु भारत आफैं चीनसँग भिड्न आएको उल्लेख गरेको छ ।

भारतीय रक्षामन्त्री अरुण जेट्लीले केहीअघि चीनसँग टु फ्रन्ट वारु गर्न तयार रहेको वक्तव्य दिएका थिए । चिनियाँ विदेश मन्त्रालयले चिनियाँ सैनिक नहटे सन् १९६२ को अवस्था दोहोरिन सक्ने धारणा सार्वजनिक गरेको थियो । यसबीच भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल बेइजिङ् पनि पुगे । तर, उनीहरू बीचको तनाव भने हल हुन सकेको छैन ।

भारतले सिक्किम र उत्तर–पूर्वी सात क्षेत्र पुग्ने मुख्यद्वार ुसिलगुडी करिडोर (चिकेन्स नेक) नजिक डोक्लाम क्षेत्र पर्ने हुँदा आफूलाई सुरक्षाका दृष्टिले गम्भीर चासो रहेको बताउने गरेको छ । चीन र भारतबीच सीमा युद्धको आशंका चलिरहँदा नेपालमा त्यसले मनोवैज्ञानिक त्रास र चिन्ता पैदा गरेको छ । दुई छिमेकीबीच सीमा युद्ध भइहाल्यो भने कसरी परिस्थिति सामना गर्ने भन्ने सम्बन्धमा पनि नेपालमा बहस हुन थालेका छन् । यो समाचार आजको अन्नपूर्ण दैनिकमा प्रकाशित रहेको छ ।