कमल थापाले कसकसलार्इ निकाले पार्टीबाट ? (हेर्नुस् नाम)

काठमाडौं । राप्रपाले दुई पदाधिकारीसहित १६ केन्द्रीय सदस्य र तीन सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी ६ वर्षका लागि निष्कासन गरेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकले पार्टी विधानको धारा (२७) र (२९)अनुसार साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको प्रवक्ता भुवन पाठकले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

बैठकले उपाध्यक्ष तथा सांसद दीपक बोहरा, महामन्त्री तथा सांसद सुनील थापासहित केन्द्रीय सदस्यहरू हरिबहादुर बस्नेत, नवराज सुवेदी, प्रवीण चाम्लिङ, किरण गिरी, रामकृष्ण भट्टराई, सगुनसुन्दर लावती, रेशमबहादुर लामा, पदमबहादुर बस्नेत, राजेन्द्रप्रसाद श्रेष्ठ, विष्णुविक्रम थापा, गिरिधरी परियार, विन्दु पहाडी, प्रदीपकुमार राई र प्रदीप उदयलाई निष्कासन गरेको छ ।

त्यस्तै, सांसदहरू विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ, बबिना मोक्तानलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

बैठकले एकता महाधिवेशन भएको ६ महिना बित्न नपाउँदै पार्टी विभाजन गर्ने कार्य दुर्भाग्यपूर्ण भएको भन्दै कठिन घडीमा विचलित नभई पार्टीको सिद्धान्त, विचार र आदर्शप्रति प्रतिबद्ध रहन सबै तहका कार्यकर्तालाई आह्वान गरेको छ । केन्द्रीय समिति बैठक मंगलबार पनि बस्नेछ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।