अरु पार्टीले प्रत्यक्ष कार्यकारी प्रमूख नमाने जनताको बीचमा जान्छौंः प्रचण्ड

कांग्रेस एमालेलाई संघियता घाडो भएको उद्घोष

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा. (माओवादी केन्द्रं) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूख मान्न अरु पार्टीहरु तयार नभए आफूहरु जनताको बीचमा जाने बताएका छन ।

सोमबार नेकपा (माओवादी केन्द) ४ नम्वर प्रदेशको राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन ।

प्रचण्डले भने–‘संविधानको प्रभावकारिता, संघीयताको सन्तुलन, राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ, हिजो कांग्रेस–एमालेले मानेकै कुरा हो । आज पनि यो मुद्दामा सबै एक हुनुपर्छ । कार्यकारी राष्ट्रपतिका लागि हामी पहिला वैचारिक अभियान सञ्चालन गर्छौ, त्यसमा कांग्रेस एमालेले मानेनन् भने हामी जनताको बीचमा जान्छौ र व्यापक जनदवाव सृष्टि गर्छौं ।’

अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचनमा धेरै नै आर्थिक बिकृति निम्तिएकाले यसको बिकल्प खोज्नुपर्नेमा जोड दिँदै भने–‘निर्वाचनमा यति धेरै बिकृति आइसक्यो कि मध्यम वर्गका मान्छेहरु पनि चुनाव लड्न नसक्ने भए । घुमाई फिराई सम्भ्रान्त वर्गले मात्रै चुनाव लड्न र जित्नसक्ने परिस्थिति सिर्जना हुँदैछ । यसको अन्त्यका लागि पार्टीहरु बीच प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ । यसको पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखसँग गहिरो अन्तर्सम्बन्ध छ । समानुपातिक निर्वाचन प्रणालीबाट मात्र उत्पीडितहरु नीति निर्माणको तहमा आउँछन्, यसले निर्वाचनमा करोडौ पैसाको चलखेल हुने कुरा पनि रोक्न सकिन्छ ।’

माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिन सक्ने खतरा औल्याउँदै प्रचण्डले एमाले लगायतका पुराना पार्टीहरुलाई संघीयता घाँडो भएको र गणतन्त्र पनि मन नपरेको औँल्याए ।