बैतडीका ६ पालिका सञ्चार सम्पर्कविहीन

बैतडी । लगातारको वर्षाका कारण बैतडीका ६ पालिका सञ्चार सम्पर्कविहीन बनेका छन् । केही दिनदेखि घाम नलागेका कारण टावरमा रहेका ब्याट्री चार्ज नभएपछि जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको हो ।

जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका अधिकांश वडामा सञ्चार अवरुद्ध बनेको स्थानीयले बताएका छन् ।

यस्तै डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा नेपाल टेलिकमको नमस्ते तथा स्काई, स्मार्ट र एनसेलको सेवा अवरुद्ध बनेको हो ।

घाम नलाग्दा टेलिफोनको टावरको ब्याट्री चार्ज हुन नपाएको नेपाल टेलिकमले जनाएको छ । विद्युतीकरण नभएका उक्त ठाउँहरूमा घाम नलागेपछि टावरमा राखिएको सोलार ब्याट्री चार्ज हुन नपाउँदा सञ्चार सेवा अवरुद्ध हुने गर्छ ।

बैतडीका ६ वटै पालिकामा नेपाल टेलिकमका जिएसएम, स्काई र एनसेलले सेवा प्रदान गरिरहेका छन् । पुर्चौडीमा नेपाल टेलिकमले प्रदान गर्दै आएको स्काई फोन सेवा र जिएसएम मोबाइल सेवा अवरुद्ध हुँदा हजारौँ ग्राहक मारमा परेका छन् । बादल लाग्नेबित्तिकै मोबाइल सेवा अवरुद्ध हुने पुर्चौडीका लालबहादुर भण्डारीले गुनासो गरे ।

घाम नलागेको दिन मोबाइलमा टावर देखाउँदैन, उनले भने ।
डिलासैनी गाउँपालिकामा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा सास्ती खेप्नुपरेको स्थानीय महेश बोहराले बताए । ‘नेपाल टेलिकमको मठैराजस्थित टावरले काम नगर्दा मोबाइल सेवा अवरुद्ध छ, उनले भने ।

जिल्लाको विकट तल्लोस्वारडका तीन स्थानीय तहमा पनि सञ्चार सेवा अवरुद्ध छ । ‘मोबाइलमा छिनमै टावर आउँछ, छिनमै जान्छ, शिवनाथका गम्भीर दयालले भने, ‘हामी बर्खाभरि सञ्चार सुविधाबाट वञ्चित छौँ ।

बैतडीमा नेपाल टेलिकमको नमस्ते, स्काई फोन, निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल र स्मार्ट प्रयोगमा छन् । तर, पहाडी भूबनोटका कारण जिल्लाका धेरै बस्तीमा सञ्चार सेवा पुगेको छैन । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।