जेलको अवस्था दर्दनाक

काठमाडौं । सरकारी निकायकै एक निरीक्षण प्रतिवेदनले मुलुकभरका जेलको कहालिलाग्दो अवस्था दर्शाएको छ ।

प्रायः जेलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी कोचाकोच गरेर राखेको तथ्य उजागर भएको छ । अधिकांश जेलमा घामसमेत नछिर्ने अँध्यारा कोठा छन् ।

सुत्ने ठाउँको अभावका कारण रातमा आलोपालो सुत्नुपर्ने स्थिति छ । बन्दीका लागि शौचालय, औषधोपचार, बन्दीलाई दिइने सिदा, पोषणयुक्त खाना, स्नान कक्षलगायत अभाव छ ।

बन्दीसँगै रहेका बालबच्चाको मानवअधिकारको अवस्थासमेत नाजुक भेटिएको छ । अधिकांश जेलको छाना टिनको रहेका कारण खिया लागेर वर्षामा पानी चुहिएको छ । कतिपयमा सख्त बिरामी हुँदासमेत पर्याप्त उपचारको प्रबन्ध छैन । जेलमा नअटेर पाल र टहरोमा रात काट्नुपर्ने स्थिति छ ।

महान्यायाधिवक्ताको कार्यालयद्वारा गरिएको ५१ जिल्लाका कारागारको स्थलगत अनुगमनबाट यस्तो स्थिति पत्ता लागेको हो । अनुगमनका लागि १९ वटा अनुगमन टोली जिल्ला जिल्लामा खटाइएको थियो । ५१ जिल्लाका ४७ वटा कारागारमा हाल नौ हजार पाँच सय ९२ कैदीबन्दी छन् । तर, थेग्नसक्ने क्षमता भने जम्मा पाँच हजार पाँच सय ९४ छ ।

क्षमताभन्दा झन्डै दुई गुना बढी कैदी थुनुवा रहेको भेटियो । बाजुरा, डोटीलगायत जिल्लाको स्थिति बेहाल छ,ु अनुगमनमा संलग्न महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सजव रेग्मी भने ।

‘अधिकांशमा घाम, हावा र प्रकाश पर्याप्त नरहेको अवस्था छ ।ु थुनुवाहरूले दैनिक सिदा खर्चबापत सात सय ग्राम चामल र ४५ रुपैयाँ पाउँछन् । तर, उनीहरूलाई पेटभरि खानका लागि अपर्याप्त हुने प्रतिवेदनले औंल्याएको छ ।यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।