भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेणु दाहाल विजयी

विजयी जुलुश निकाल्ने तयारीः नेता,कार्यकर्ता र स्थानीयवासिमा खुशीयाली

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल फराकिलो मतान्तरले विजयी भएकी छन । एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीलाई २३५ मतले पछिपार्दै उनी विजयी भएकी हुन ।

भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि उनले स्थानीय विकास विकासको लागि सबैसँग सहकार्य गरेर आफुले काम गर्नै बताएकी छन ।

अहिले मत गणनास्थल बाहिर माओवादी नेता, कार्यकर्ता र स्थानीयवासिहरुको भिड लागेको छ भने विजयी जुलुश निकाल्ने तयारी भैरहेको माओवादी नेताहरुले बताएका छन ।

मत गणनाको कार्य सकिएको र उनी २३५ मतान्तरले विजयी भएको भएपनि त्यसको औपचारीक घोषणा गर्न भने बाँकी रहको निर्वाचन आयोगका प्रतिनिधिले हरपल नेपालसँग बताएका छन ।

माओवादी काँग्रेसको गठबन्धनबाट मेयरमा रेणु दाहाल र उपमेयरमा काँग्रेसबाट पार्वती शाह निर्वाचित भएका छन । अहिले मत गणना स्थल वरपर नारा जुलुश सहित भिड लागेको छ, त्यहाँ कुनै घटना हुन नदिन सुरक्षा ब्यवस्था पनि ब्यापक मात्रामा परिचालन गरिएको प्रहरीले बताएको छ । 

सर्वोच्वको फैसला र रेणुको विजयी यात्रा

गत वैशाद ३१ गते पहिलो चरणमा सम्पन्न निर्वाचन मत गणना स्थलमा मतपत्रहरु च्यातिएको विषयमा विवाद हुदाँ सर्वोच्वको फैसलापछि तीन महिनामा उनी विजयी भएकी हुन ।

यसअघिको मत परिणाम अनुसार कडा पतिस्र्धामा देखिएका देवी र रणुको विषयले राष्ट्रिय मिडियामा निकै चर्चा समेत पायो । ठूला पार्टीका शिर्ष नेताहरुले नजिकबाट हेरेको उक्त निर्वाचनमा एमालेको जित्ने सम्भावना भन्दै कतिपयले भविष्यवाणी गरेपनि परिणाम भने माओवादी काँग्रेसको पक्षमा आएको छ ।

भरतपुर १९ नम्बर वडाको मतगणनाको क्रममा गत जेठ १४ गते मध्यराति माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेको भन्दै एमालेले आरोप लगाएपछि माओवादीका केही नेताहरु पक्राउ समेत परेका थिए तर पछि निर्वाचन आयोग र सर्वोच्व दुबैले १९ नम्बार वाडामा पुर्न निर्वाचन हुनुपर्ने आदेश दिएपछि भने निरास भएका माओदी नेताहरु उत्साहित भएका थिए ।

त्यसो त जेष्ठ १२ गते हरपल नेपालसँगको कुराकानीका क्रममा पनि रेणु दाहालले आफ्नो पक्षमा स्पष्ट मत आएको र आफुले जित्ने निश्चित भएको बताएकी थिइन ।

मतपत्र च्यातिनुअघिसम्म एमाले उम्मेदवार देबी ज्ञवाली रेणु दाहालभन्दा ७८४ मत अन्तरले अघि थिए । मत गणनाको क्रममा मतपत्र च्यातिएपछि १९ नम्बर वडाका सबै मत बदर गर्दै निर्वाचन आयोगले साउन २० गते पुनः मतदान गराएको थियो ।

२२१ मतको सामान्य अग्रता लिएर वडा नम्बर २० मा प्रवेश गरेका ज्ञवालीको अग्रता १६ सय मत गणना गरेपछि सकिएको सकिएको थियो भने रणुको पल्ला भारी हुदैँ गएको थियो ।