बाढीका कारण नुवाकोट र रसुवा जोड्ने पुल बग्योः बस्ती जोखिममा

खोला बस्तीमा पस्ने खतरा

नुवाकोट । नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा रहेको झोलुंगे पुल गए राति आएको बाढीले बगाएछि बस्ती जोखिममा परेको छ ।

फलाखु खोलामा आएको बाढीले पुलको नुवाकोटपट्टिको भाग बगाएपछि स्थानीयवासीहरु समस्यामा परेका छन । पुलको एकापट्टिको भाग नै बगाएपछि खोला बस्तीमा पस्ने खतरा बढेको स्थानीयवासी शशिकुमार डंगोलले बताए ।

फलाँखु खोलामा आएको बाढीले धार्मिक तथा ऐतिहासिक क्षेत्र बेत्रावतीको ऐतिहासिक झोलुंगे पुल बगाएपछि खोला बस्तीमा पस्न सक्ने खतरा बढेको हो ।

पुलको नुवाकोटपट्टिको भाग भत्काएकाले तत्काल खोला नियन्त्रण नगर्ने हो भने पुलसँगै जोडिएका घरसमेत भत्काउन सक्ने स्थानीयवासीले बताएका छन् ।

पुल बगाएपछि खोलाको बहाव नुवाकोटपट्टि बढी आएकाले बस्ती जोखिममा परेको स्थानीय गोसाइँकुण्ड क्लबका अध्यक्ष सुरज लबटले बताए ।

साठी वर्षभन्दा पुरानो सो पुल पक्की पुल बनेसँगै पछिल्ला केही दशकदेखि प्रयोगविहीन अवस्थामा थियो । आफ्नो क्षेत्रको ऐतिहासिक पुलको संरक्षण गर्नुपर्छ भन्दै स्थानीयवासीबाट केही वर्षअघि पुल मर्मत गरिएको थियो । रासस