हजार रुपियाँ पकाएपछि सदनबाट सांसद गायब

काठमाडौं । आवश्यक गणपुरक सङ्ख्या (कोरम) नपुगेपछि व्यवस्थापिका संसद्को बैठक दुई दिनका लागि स्थगित भएको छ ।

शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भए पनि कोरम यकिन गर्दा ९७ जना सांसदमात्र फेला परेका थिए ।
हाजिर गरेर ३८० सांसद बेपत्ता भएपछि सदनको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन । सांसदहरूले सदनको बैठकमा एक दिन उपस्थित भएर हाजिर गरेबापत एक हजार रुपियाँ भत्ता पाउँछन् ।

गणपुरक सङ्ख्या नपुग्दा संवैधानिक आयोग गठनसम्बन्धी तीन विधेयक पारित हुन सकेनन् । सांसदहरू हाजिर गरेर फर्किएपछि महत्वपूर्ण विधेयक पारित भएनन् । शुक्रबार मधेसी आयोग, मुस्लिम आयोग तथा थारू आयोग गठनसम्बन्धी विधेयक पारितको कार्यसूची थियो ।

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले महत्वपूर्ण विधेयक अनुमोदनको चरणमा गणपुरक सङ्ख्या नै नपुग्नु गलत अभ्यास भएको बताए ।

महत्वपूर्ण विधेयक पारितको कार्यसूची रहेको शुक्रबारको बैठकमा सुरुमा ४७७ सांसदको उपस्थिति हाजिर थियो । तर, सदनमा गणपुरक सङ्ख्या यकिनका क्रममा ९७ जनामात्र सांसद उपस्थित थिए । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।