डोटीमा जीप दुर्घटनाः चालक सहित ९ जनाको मृत्यु

घाइतेको जिल्ला सदरमुकाममा उपचार हुँदै

डोटी । डोटीको बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु र चार जना गम्भिर घाइते भएका छन ।

गए राती शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप भिरबाट करिब एक किलो मिटर तला खस्दा उक्त दुर्घटना भएको हो ।

त्यस दुर्घटनामा परी मृत्यु हुनेहरुमा गाउँपालिका वडा नम्बर १ सिमचौरका ३५ वर्षीय बिष्णुबहादुर मगर, ५५ वर्षीय भिम घर्ती मगर, ५० वर्षीय बुढो घर्ती मगर, ४५ वर्षीय गोरख थापा, ४८ वर्षीय सशीराम बहादुर पुनमगर, ४५ वर्षीय ललीता देबी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्ती मगर र शिखर नगरपालिका १ कपल्लेकीका २८ बर्षिय चालक कृष्णबहादुर नेघीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ ।

सो दुर्घटनाकै क्रममा दलबहादुर घर्ती मगर, हर्कबहादुर घर्ती मगर, वीरबहादुर घर्ती मगर, प्रकाश घर्ती मगर लगाएत गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचार जिल्ला सदरमुकाममा भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।