ट्रम्प र रुसबीचको साँठगाँठबारे अनुसन्धान जारी

बैठकमा संलग्नलाई उपस्थित हुन आदेश

अमेरिका । संयुक्त राज्य अमेरिकामा गत राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष समितिले एउटा वृहत् निर्णायक मण्डल ग्र्याण्ड जुरी गठन गरेको बताइएको छ।

अमेरिकी मिडियाले त्यसलाई रोबर्ट मुलर अनुसन्धानमा संभावित अपराधिक अभियोगमाथि काम गर्न पहिलो कदम भनेको छ।

रोयटर्स समाचार संस्थाका अनुसार जुरीले राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा र रुसी कानून व्यवसायीबीच जुन २०१६ मा भएको बैठक सम्बन्धमा सम्बन्धितहरुलाई उपस्थित हुन आदेश जारी गरेको छ।

राष्ट्रपति ट्रम्पले हिलरी क्लिन्टनलाई हराउन रुससँग साँठगाँठ गरेको भन्ने कुरालाई अस्वीकार गर्दै आएका छन्।

अमेरिकामा ग्र्याण्ड जुरीहरु कुनै पनि काण्डका प्रमाणहरु अपराधिक अभियोग लगाउन यथेष्ट छन् कि छैनन् भनेर खोजी गर्न गठन गरिन्छन्।(अन्तराष्ट्रिय संञ्चारमाध्यमबाट)