बैंक सञ्चालक र सीईओको तोकियो योग्यता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को योग्यता तोकेको छ ।

राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थाअनुसार सञ्चालक, स्वतन्त्र सञ्चालक तथा सीईओकोे योग्यता तोकेको हो ।

राष्ट्र बैंकको परिपत्रअनुसार अबदेखि बैंक, विकास बैंक वा फाइनान्स कम्पनीको सञ्चालक हुन चहानेसँग विदेशी–स्वदेशी, बैंक वा वित्तीय संस्था तथा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ ।

सो योग्यता नभए स्नातक उपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।