पूर्व नेपाल प्रहरी परिवार मञ्च बेलायतद्वारा बम फाल्ने राना सम्मानित

काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालको समुपस्थितिमा पूर्व नेपाल प्रहरी परिवार मञ्च, बेलायतले प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर रानालाई बिहीबार नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा उक्त मञ्चको तर्फबाट मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानालाई नगद ५१ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरेका हुन ।

प्रहरी सहायक निरीक्षक रानाको साहसले नेपाल प्रहरीका सदस्यहरुको विरता र कर्तव्यपरायणतालाई पुनः एकपटक इतिहासमा कहिल्यै नमेटिने गरी अंकित गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले यसले देश, विदेशमा रहेका नेपालीहरु माझ प्रहरी संगठनको पहिचान र लोकप्रियतालाई नयाँ उचाईमा पुर्याएको बताए ।