प्रदेश नं २ काँग्रेसको भोट बैंकस् महामन्त्री कोइराला

विभिन्न पार्टी परित्याग गरी १५० जना कांग्रेसमा प्रवेश

गौशाला । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली काँग्रेसको भोट बैंक रहेको बताएका छन् ।

जिल्लाको बर्दिवासस्थित नेपाली काँग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसले सधैँ प्रदेश नं २ मा बढी सिट ल्याएर चुनाव जित्दै आएकाले यो प्रदेश भोट बैंकको रुपमा रहेको चर्चा गरेका हुन् ।

महामन्त्री कोइरालाले २ नं प्रदेशबाहेक अन्य प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घातका कारण काँग्रेस पछि परेको आरोप लगाए ।

उनले सबै वर्ग जाति र समुदायका साथै आन्दोलनरत पक्षका संविधान संशोधनलगायतका माग काँग्रेसले नै पूरा गर्ने भएकाले यस प्रदेशमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो दललाई पूर्ण बहुमतका साथ जिताउन आग्रह गरेका छन् ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने १५० जनालाई स्वागत गरिएको थियो । रासस