‘राष्ट्रिय सम्मेलनले अबको विद्यार्थी आन्दोलनको बागडार सम्हाल्न डाइनामिक लिडर चुन्छ,संगठनमा नयाँ उर्जा थप्छ’– अध्यक्ष न्यौपाने

‘७० प्रतिशत नेताहरु बिदाईको प्रतिक्षामाः १९९ सदस्यीय समिति निर्माण हुने’

(समाज रुपान्तरणको नारा उठाउँदै २०५२ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा बाल्यकालदेखि नै प्रत्यक्ष रुपमा होमिएका, राजनीतिक, बौद्धिक हिसाबले खरो उत्रिने, सशक्त युवा नेता हुन्, नरेन्द्र न्यौपाने । जुम्लाको दुर्गम बस्तीमा जन्मेर पनि राजनीतिक चेतनाको दियो बाल्ने काममा भए निकै दत्तचित्त रुपमा सर्घषरत छन उनी । माओवादी पार्टी शान्तिप्रकृया आएपछि विभिन्न कारणले पार्टी विभाजन र एकताको प्रकृयामा बढ्यो, तर उनी पार्टीको मुल नेतृत्वको लाईमा रहेर हाल माओवादी केन्द्र निकटको विद्यार्थी संगठन, अखिल क्रान्तिकारीको अध्यक्षको जिम्मेवारीमा छन । उनको नेतृत्वमा निजि विद्यालयको चर्को शुल्क खारेजी, शिक्षामा एक रुपता, शैक्षिक प्रमाणपत्रको आधारमा शैक्षिक ऋण, ब्यावहारीक र गुणस्तरीय शिक्षा लगायतका विषयमा राज्यलाई दवाब दिने आन्दोल भए र त्यसले समग्र शैक्षिक मुद्धाहरुको ब्यवस्थीत ढंगले उठान गरेको छ । त्यहिबीचमा क्रान्तिकारीको आउँदो भाद्र ७ देखी ११ गतेसम्ममा एकताको २१ औं राष्ट्रिय सम्मेलन हुने निश्चित भएको छ, सम्मेलनले विद्यार्थी संगठनबाट करिब ७० प्रतिशत नेताहरुलाई बिदाई गर्ने छ भने नयाँ नेतृत्वको चयन पनि गर्ने छ । हामीले ‘क्रान्तिकारीको राष्ट्रिय सम्मेलनः अबको शैक्षिक आन्दोलन र नेतृत्व’ विषयमा विद्यार्थी संगठनबाट बिदाईको प्रतिक्षामा बसेका न्यौपानेसँग हरपल संवादमा कुराकानी गरेका छौ । प्रस्तुत त उनीसँगको कुराकानी…..)

  • अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तिथि मिति घोषणा भैसकेको छ, अहिले के मा बेस्त हुनुहुन्छ तपाईहरु ?

-हाम्रो संगठन अखिल क्रान्तिकारीको एकताकोे एक्काइसौ राष्ट्रिय सम्मेलन भाद्र ७ देखि ११ सम्म हामी काठमाडौँमा गर्दैछौँ । उद्घाटन भृकुटी मण्डपमा गर्ने र बन्दशत्र त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्याम्पस कृतिपुरमा गर्ने भन्ने हामीले निर्णय गरेका छौँ । हाम्रो पार्टी र अरु दश माओवादी घटकसँग एकता भैसकेपछि सम्बन्धित विद्यार्थी संघ संगठनहरुमा भएको एकताको आधारमा हाम्रो संगठनको एक्काइसौ राष्ट्रिय सम्मेलनको हामी यतिबेला तयारीका काममा जुटेका छौ । झण्डै एक हजार भन्दा बढि केन्द्रिय सदस्यसहितको केन्दिय समिति निर्माण भएकोमा अब ठूलो कमिटिलाई एमदमै चुस्त, दुरुस्त व्यवस्थित बनाएर लिने हाम्रो सोच रहेको छ । यस सम्मेलनले त्यसको पुर्ति गर्ने छ । एकताको भाव दिने शिक्षामा आमुल परिबर्तनको एजेण्डासहित संघर्षरत क्रान्तिकारी विद्यार्थी आन्दोलनको बिरासतलाई नयाँ उचाईमा उठाउने भुमिका हाम्रो हुने छ । खास गरी आजको शिक्षा प्रणाली समग्र शिक्षा प्रणालीमा रुपान्तरणको मुद्दा, समाजवादी शिक्षा प्रणालीका लागि हामीले आन्दोलनको एजेण्डा तय गर्ने कुरा राष्ट्रियता, गणतन्त्र र जन जीविकाको सवाल लगाएतका मुद्दाहरुलाई उठाएर विद्यार्थी आन्दोलनलाई समय सापेक्षिक, विद्यार्थीको हकहित र अधिकारका निम्ति कसरी केन्द्रित गर्ने भन्ने कुरामा हामी जुटिरहेका छौ र त्यहि कार्यदिशा निर्माण गरेर हामी जान्छौँँ । विद्यार्थी आन्दोलन आज कहि न कहि सुसुप्त भएको जस्तो र विद्यार्थी आन्दोलन राजनीतिक दलको एउटा भर्याङका रुपमा काम गर्दै आएको भन्ने जुन सर्बोव्यापि रुपमा आरोप र प्रत्यारोपहरु छन, त्यसलाई खण्डन गर्दै विद्यार्थी आन्दोलन, विद्यार्थीको हकहितका लागि हो भन्ने कुरा स्थापित गर्ने र विद्यार्थीका मुद्दाहरुलाई यो राष्ट्रिय सम्मेलन मार्फत हामी पुनर्जागृत गर्ने अभियानमा छौ । जनवादी शिक्षाको सुरुवात नभएपनि आज राजनीतिक सत्तामा, राजनीतिक व्यवस्थामा एउटा ठुलो परिबर्तन आएको छ । नेपालमा गणतन्त्र संघियता, समावेशिता, समानुपातिक प्रतिनीधित्व लगाएतका कुराहरु स्थापना भएका छन । तरपनि आजको शिक्षा क्षेत्रमा निजिकरण र व्यापारीकरण भने मौलाइरहेको छ । त्यसलाई नियन्त्रण गर्ने र यसलाई खास गरी सार्बजनिक शिक्षाको स्तरलाई स्तरोन्नती गरेर अगाडि बढ्ने सन्दर्भमा हामी राष्ट्रिय सम्मेलनमा बृहत्तर बहस गर्छौ र समाजवादी शिक्षाका आधारहरु के हुन, समाजवादी शिक्षा कसरी प्राप्त गर्न सकिन्छ, समाजवादी शिक्षालाई जनता र समाजसँग कसरी लागु गर्न सकिन्छ भन्ने कुराका बारेमा हामीले यो राष्ट्रिय सम्मेलनमा बहस गरेर एउटा निष्कर्ष निकाले जान्छौँ । राजनीतिबाट हामीलाई जे कुराहरु आजसम्म प्राप्त भएका छन, त्यसलाई शिक्षा क्षेत्रमा पनि प्राप्त गर्ने एउटा उद्देश्यसहित यो राष्ट्रिय सम्मेलन हाम्रो शैक्षिक आन्दोलनका हिसाबले र विद्यार्थी आन्दोलनका हिसाबले यसलाई एउटा कोशेढुङ्गा बनाएर अगाडि जाने हाम्रो उद्देश्य हुने छ । हामी त्यसैमा केन्द्रीत भएर, वहस, छलफल र अन्य आवश्यक तयारीका कामहरु गरिरहेका छौ । देश ब्यापि रुपमा विद्यार्थी साथीहरु सम्मेलनको तयारीमा जुट्नु भएको छ ।

  • अहिले तपाईहरुले सम्मेलनमा संगठन निर्माणको विधि कस्तो बनाउनु भएको छ ? निर्वाचन हुन्छ वा मनोनित र केन्द्रीय समितिले मिलाएर लैजाने खालको ?

-हामीले दुईवटै प्रणालीलाई अवलम्बन गर्ने भनेका र्छौ । संगठनको निर्माणमा हामी पहिलो प्रयाश सहमतिय पद्धतीको गर्छौ, त्यो आधारमा हामी सबै साथीहरुलाई मिलाएर लैजाने प्रयत्न गर्ने छौँ, प्रतिनीधिका बीचमा र आयोजक समितिका बीचमा बसेर हामी सहमतिका आधारमा केन्द्रय समितिको टिम टुङ्ग्याउने अधिकतम कोशिसमा लाग्ने छौ । यद्यपि त्यसलाई हामीले टुङ्ग्याउन सकेनौँ भने, त्यो कुरामा सहमति बन्न सकेन भने, धेरै दावेदारहरु भए भने र उनीहरुका बीचमा सहमती बन्ने संकेत देखिएन भने हामी निर्वाचनको विधि प्रयोग गरेर जान्छौ । निर्वाचनको हामीले मापदण्ड पनि बनाइसकेका छौँ, कायविधि पनि निर्माण गरिसकेका छौँ र निर्वाचन कमिटि पनि बनाइसकेका छौँ । यसको अर्थ हामी दुईवटै विधिका निम्ति हामी तयारीमा छौँ भन्ने हो ।

निर्वाचन कमिटि र कार्यविधि बनि सकेको भन्नु भो, त्यो कार्यविधिको विषयमा प्रष्ट पारिदिस न ?
केन्द्रीय समितिको निर्वाचनका कार्यविधि बनिसकेको छ । केन्द्रीय पदाधिकारीको उम्मेदवार बन्नका निम्ति एक कार्याकाल केन्द्रीय कार्यसमितिमा बसेको हुनुपर्ने छ । भने केन्द्रिय अध्यक्ष हुनुका निम्ति एक कार्यकाल भरी केन्द्रीय पदाधिकारीको भुमिकामा बसिसकेको हुनुपर्ने भन्ने कुरा हामीले टुङ्ग्याएका छौँ । केन्द्रीय समिति सदस्यको उम्मेदवार बन्ने हकमा राष्ट्रिय सम्मेलनको प्रतिनीधि चुनिएको हुनुपर्ने छ ।

  • जम्बो कमिटिलाई घटाउने कुरा तपाईहरुको पार्टीदेखि मोर्चा, संगठनहरुमा पनि चलिरहेको छ, यो सम्मेलनले कस्तो खालको संगठनात्मक संरचना तयार गर्ला ?

-ठीक कुरा उठाउनुभयो । चुस्त र कामकाजि संगठन बनाउनु पर्छ भन्ने वहस हाम्रो संगठनमा पनि चलेको छ । हामीले यो सम्मेलनबाट एक सय उनान्सय सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेका छौ । एक सय ९९ सदस्यमा पनि पहिले एक सय ६९ जना निर्वाचित भएर आउने केन्द्रीय समितिमा आउने छन र केन्द्रीय समितिले पछि २० मनोनित गरेर पुर्ण समिति बनाइने छ । हाम्रो नयाँ संगठनात्मक संरचनामा २५ जना पदाधिकारी हुनेछन । ति पदाधिकारी मध्येमा एक जना अध्यक्ष खुल्ला निर्वाचित हुने छन । तीन जना उपाध्यक्ष खुल्ला हुने छन भने एक जना उपाध्यक्ष निर्वाचित केन्द्रिय समितिले मनोनित गर्ने छ । उपाध्यक्षमा एक जना उपाध्यक्ष छात्रातर्फबाट निर्वाचित हुनेछन र एक जना उपाध्यक्ष मधेशीबाट निर्वाचित हुने छन । त्यसैगरी एक महासचिब खुल्लाबाट निर्वाचित हुने छन । २ जना उप–महासचिब खुल्ला निर्वाचित हुने छन, भने एक जना उप–महासचिब छात्रातर्फबाट निर्वाचित हुने छन । त्यसैगरी हामीले १३ जना सचिबहरु बनाउने भएका छौ । त्यसमध्येमा ७ जना प्रत्येक सात प्रदेशबाट प्रतिनिधित्व हुनेगरी सचिब निर्वाचित हुने छन । एक, एक जना विश्व विद्यालय, विभागहरु र कार्यालय अन्तर्गत काम गर्ने मध्यबाट निर्वाचित हुने छन । त्यसैगरी दुई जना छात्रा, एक दलित, एक मधेशी, मुश्लिम र एक जना जनजातीबाट सचिबमा निर्वाचित हुने छन । उम्मेदवारी दिँदा सम्बन्धित लिंग, क्षेत्र वा भुगोलबाट उम्मेदवारी दिने छन । पदाधिकारीको मतदान गर्ने हकमा देशभरीका सम्पूर्ण प्रतिनीधिहरुले मतदान गर्न पाउने छन । केन्द्रीय सदस्यहरुको हकमा भने सम्बन्धित प्रदेशबाट निर्वाचित हुनु पर्नेछ र प्रदेशका प्रतिनीधिहरुले उनीहरुलाई मतदान गर्ने छन । शिक्षण संस्थाको घनत्व र सबै कुरालाई आधार बनाएर प्रदेशमा कोटा निर्धारण गरिएको छ । त्यहि कोटाका आधारमा उनीहरु निर्वाचित भएर जाने बिधि हुने छ र समाबेसितालाई पनि त्यसमा आधार बनाइएको छ ।

  • अहिलेसम्मको अवस्थालाई मुल्याङ्कन गर्दाखेरी कतिसम्मको संख्यामा सम्मेलन प्रतिनीधि हुन्छन होला ?

-प्रतिनीधि एक हजारको हाराहारीमा हुनेछन भने ९ सयको वरिपरी आयोजक समिति सदस्य हुनेछन । यसरी गर्दा १९ सय जति हाम्रो राष्ट्रिय सम्मेलनका प्रतिनीधि मात्रै हुनेछन । आयोजक स्वत्तः प्रतिनीधि हुने भएकाले १९ सय जति प्रतिनीधि सहभागि हुन्छन ।

  • तपाईहरुको १९९ जनाको केन्द्रीय समितिमा महिला र जनजाती विद्यार्थीहरुको अनुपात के कति हुन्छ ?

-अब खास गरी यसका लागि संविधानमा व्यवस्था भएअनुसारको समावेशिताको प्रतिशत हामीले सुनिश्चित गरेका छौँ । छात्राहरुको हकमा ३३ प्रतिशत सुनिश्चित गरीएको छ भने, अरु जनजाती, लगाएतको प्रतिशत पनि त्यहि ब्यवस्थाको आधारमा तोकिएको छ ।

  • लामो समय विद्यार्थी राजनीतिमा आफ्नो कार्यकाल पुरा गरेका नेताहरुलाई पार्टीले कसरी ब्यावस्थापन गनुपर्ला ? अहिले धेरै विद्यार्थी आन्दोलनबाट गएका नेताहरु भुमिका विहिन जस्तो पनि देखिएका छन ?

-विद्यार्थीबाट सफल नेतृत्व गरेर विदा भएका नेताहरुलाईपार्टीले उचित ढंगले मूल्याङ्कन गर्दै सक्रिय र ठोस जिम्मेवारी दिनुपर्छ भन्ने कुरा हो । आज हामीले समग्र पार्टीलाई हेरिरहेका छौँ, पार्टी आज संगठनात्मक रुपमा अस्तव्यस्त अवस्थामा रहेको छ र पार्टीका तलदेखि माथिसम्मका सबैलाई सिस्टममा मिलाउँदै काम गर्ने खालको समिति बनाउनु पर्छ भन्नेमा धेरैको जोड रहेको छ । त्यो सन्दर्भमा विद्यार्थी राजनीतिमा अनुभव, दक्षता र क्षमतासहितको काम गरेको युवा जनशक्ति विद्यार्थीबाट विदाइ हुँदा पार्टीमा दीर्घकालिन हिसाबले स्थानीय राजनीतिका निम्ति, संघको, प्रदेशको राजनीतिका निम्ति र केन्द्रीय राजनीतिका निम्ति नेतृत्व दिनुपर्छ र त्यसमा साथीहरु सक्रिय हुनुपर्दछ । त्यसले पार्टीलाई सकारात्मक ठाउँमा, एउटा उर्जाशिल पार्टी निर्माणका गर्नका लागि भुमिका खेल्दछ ।

  • तपाईले हजार सदस्यीय कमिटि चलाउनु भयो, अब त्यसलाई काटछाट गरेर १९९ मा झार्दा नेतृीवमा असन्तुष्टिको प्रश्न पनि पेचिलो बन्ला, यसमा कत्तिको समस्या देख्नु भाको छ ?

-खासगरी एक हजार केन्द्रीय सदस्यहरु र एक हजार नयाँ प्रतिनीधिहरुका बिचबाट चुनिएका एक सय ९९ सय जना केन्द्रीय समितिमा रहन्छन र आगामि दिनको विद्यार्थी आन्दोलनलाई अगाडि बढाउ छन । बाँकि रहेका सबै साथिहरु आवश्यकता अनुसार पार्टी आन्दोलन तिर पनि जान्छन त्यसले पार्टीलाई थप उर्जाशिल बनाउनका निमित्त भुमिका खेल्छन । यसमा खासै समस्या हुदैन जस्तो लाग्छ । एकाध ब्यक्तिमा भएपनि आम सार्थीहरुमा त्यो समस्या देखिदैन ।

  • होइन पहिले केन्द्रीय समितिको जिम्मेवारीमा रहेको मानिस तल्लो समितिमा जानुपर्दा आन्दोलन कमजोर पनि त होला नि ? त्यसले नेताहरुमा डिप्रेसन ल्याउछ जस्तो लाग्दैन ?

-होइन, डिप्रेशन ल्याउदैन । नेतृत्व र पद भन्ने कुरा निरन्तर एउटै ठाउँमा बसि राख्ने होइन । जमि राखेको पोखरीको पानी भन्दा बग्ने खोलाको पानी कञ्चन, सुद्ध भएजस्तै हाम्रो नेतृत्व त्यो भन्दा अझै सफा र सवल हुन्छ ।

  • अहिलेको जम्बो केन्द्रीय समितिबाट कति प्रतिशत जति नेताहरु विद्यार्थीबाट बिदाई भएर पार्टी वा अन्य अम्मेवारीमा जादैछन ?

-यो अहिले नै ठ्याक्कै भन्न त सकिदैन । तर अहिले हामीसँग भएको ९९ जनाको पदाधिकारीमा २५ जना पदाधिकारी मात्र अबको केन्द्रीय समितिमा रहने हो । सचिवालय वा केन्द्रीय समितिबाट पनि निर्वाचनबाट कोही पदाधिकारीमा निर्वाचिन हुन पनि सक्छन तर पदाधिकारी नै जाने सम्भावना बढि रहन्छ । त्यसैले मलाई लाग्छ झण्डै ७० देखि ८० को हाराहारीमा पदाधिकारीमा रहेका साथीहरु बिदाई भएर पार्टीमा जाने स्थिति बन्छ भने एक हजारको केन्द्रीय समितिबाट र केहि नयाँबाट पनि केन्द्रिय सदस्यमा निर्वाचन हुन सक्ने स्थिति हुन सक्छ । त्यसबाट ९ सयको हाराहारीमा केन्द्रीय सदस्य पनि विद्यार्थीबाट बिदा भएर पार्टीको भुमिकामा जाने स्थिति बन्ने देखिन्छ । अब यसबाट एउटा गाउँपालिका र एउटा नगरपालिकामा एक जना पूर्व विद्यार्थी नेता चाहि अनिवार्य उपलब्ध हुने स्थिति बन्छ र त्यसले त्यहाँ विद्यार्थी आन्दोलनका अनुभवसहित प्राप्त शिक्षालाई लिएर लागु गर्दाखेरी त्यहाँ हराभरा पनि हुन्छ भन्ने मलाई लाग्छ ।

  • सम्मेलनमा खर्चको हिसाबले कतिको अनुमान गरिएको छ ? त्यसको श्रोत जुट्यो ?

-हामीले अहिलेको तत्कालीन स्थितीमा हिसाब गर्दाखेरी ६० लाख भन्दा बढि खर्च हुने अनुमानीत योजना बनाएका छौ । त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको छ । खर्चको श्रोतका लागि पहिलो कुरा त हामीले जिल्ला संगठनहरुलाई खर्चको कोटा पनि निर्धारण गरेका छौँ । प्रतिनीधिहरुका लागि प्रवेश शुल्क २ हजार निर्धारण गरेका छौँ, त्यसैले एक हजार प्रतिनीधिबाट २० लाख रुपैयाँ जति उठ्छ । त्यसैगरी जिल्ला संगठनको कोटाबाट १० लाख जति उठ्छ, यसरी जम्मा तीस लाख जति हुन्छ । अरु ५,७ लाख जति हाम्रो केन्द्रीय सदस्यहरुको लेबि संकलनबाट आउछ र करिब २५, ३० लाखको हाराहारीमा हामी हाम्रा सुभेच्छुक, सुभचिन्तकहरबाट स्वच्छिक हिसाबले सहयोग लिन्छौ । हाम्रो राष्ट्रिय सम्मेलनको लागि सहयोग गर्दिन भनेर आव्हान गछौँ । स्वच्छिक सहयोगबाट प्राप्त हुने रकमलाई पारदर्शिताका आधारमा सम्मेलनमा खर्च गर्दछौँ । खर्चका हिसाबले अहिलेसम्म यहि योजना बनेको छ ।

  • पार्टीबाट पनि सहयोगको वातावरण बन्न सक्छ नि ?

-आवश्यक्ता पर्दा हामीले त्यहाँ गुहार गर्ने कुरा हो तर अहिले चाहि हामीले त्यो सोचेका छैनौँ । हामी हाम्रो राष्ट्रिय सम्मेलन गर्दैछौँ र हामी आत्मनिर्भर भएर अगाडि जानु पर्दछ भन्ने हाम्रो सोच हो ।

तस्विरः हरपल नेपाल डटकम- अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने

  • तपाईले लामो समयदेखि विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आउँनु भएको छ, धेरै अनुभव पनि छन, अबको शैक्षिक आन्दोलनको लागि अखिल क्रान्तिकारीको सम्मेलनले कस्तो नेतृत्वको आवश्यकता बोद्य गरेको छ ?

-राम्रो कुरा सोध्नु भयो, खासगरि अबको विद्यार्थी आन्दोलनमा डाइनामिक लिडर चाहिन्छ । विद्यार्थी आन्दोलन भनेको विद्यार्थी क्यारेक्टर भएको हुनुपर्दछ । विद्यार्थीको भावनालाई बुझ्ने, विद्यार्थीका मुद्दा बुझ्न सक्ने र त्यो विषय बस्तुहरुलाई बुझेर समन्वय गरेर काम गर्न सक्ने, एउट लिडरको आवश्यकता हामीले बोद्य गरेका छौ । यसका निम्ति हाम्रो संगठनमा नेतृत्वको अभाव छ भन्ने होइन, हाम्रो आन्दोलन भित्र जनयुद्ध, जनआन्दोलन र समग्र अहिलेको पछिल्लो राजनीतिक गतिविधिसँग निरन्तर रुपमा काम गरेका, श्रृंखलाबद्ध नेतृत्वको विकास गरेका धेरै क्रान्तिकारी विद्यार्थी नेता साथीहरु छन । म भन्दा पछाडिका लिडरहरु अब नेतृत्वको लाइनमा छन, अध्यक्षका निम्ति प्रतिस्पर्धामा छन ।

  • तपाईले डाइनामिक नेतृत्वको कुरा गर्नु भो, तर प्राय सबै संगठनमा विद्यार्थी नेताहरु नै पढाईको स्तरमा पछाडि देखिन्छन, तपाईहरुको सम्मेलनले यो विषयमा वहस सिर्जना गर्यो कि नाई ?

-शैक्षिक योग्यताको हिसाबले र अध्यायनका हिसाबले हेर्दाखेरी हिजो हामी जनयुद्ध लाड्दै गर्दाखेरी हामीलाई त्यो अनुसारको उपयुक्त वातावरण भएन । शान्ति प्रक्रियापछि आइपुग्दाखेरी थुप्रै ईन्जिनियरहरु, डाक्टरहरु, पाइलटहरु र अरु टेक्निकल शिक्षामा कृषिमा, फरेष्ट्रिमा अध्यायन गरेका विद्यार्थी नेता साथीहरु पनि अहिले हाम्रो केन्द्रीय समितिमा छन । वास्तवमा एजुकेशनका क्षेत्रमा पनि त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वाविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगाएतका सिटिइभिटि, सुदुपश्चिमाञ्चल विश्वविद्यालय , मध्यपश्चिमा विश्वविद्यालय, लुम्बिनि विश्वविद्यालय, कृषि विश्वविद्यालय लगाएतका थुप्रै विश्वविद्यालयहरुमा अध्यायन गरेराखेका विद्यार्थीहरु नै हाम्रो केन्द्रीय समितिमा आवद्ध भएका छन । त्यसैले विद्यार्थी आन्दोलन र शैक्षिक क्षेत्रका विषय बस्तुहरुलाई बुझ्ने, विद्यार्थीको भावनालाई बुझ्ने सन्दर्भमा हाम्रो सम्मेलनबाट आउने नेतृत्वमा अभाव हुदैन भन्ने हामीले विश्वास लिएका छौ । तर विद्यार्थी आन्दोलन कहि न कहि सौदाबाजि र सम्झौतातिर अगाडि बढ्यो कि भन्ने कुराको एउटा ठूलो चिन्ता र चासो छ । हिजोका कुराको परिवेशमा राजनीतिक दलहरु प्रतिबन्धित भएका बेला विद्यार्थी आन्दोलन त्यस्तो गतिमा अगाडि बढेको थियो कि त्यतिबेला राजनीति दलको भुमिकाका बारेमा विद्यार्थी आन्दोलन सडकमा उत्रिनु पर्ने आवश्यक्त थियो । अबको हाम्रो भुमिका भनेको राजनीति परिबर्तनका लागि होइन, शैक्षिक परिबर्तनका लागि हो, त्यसैले ति मुद्दामा केन्द्रीत भएर अबको नेतृत्व अगाडि बढ्छ ।

  • तपाईहरुको आर्थिक समितिको बैठक पनि हालै सम्पन्न भएको छ, आय ब्यायको अवस्था के छ ?

-आर्थिक हिसाबले हामी चलिरहेका छौँ, हाम्रो संगठनलाई सञ्चालन गर्ने सन्दर्भमा म नेतृत्वमा आइसकेपछि हामीले अनावश्यक ढङ्गले चन्दा लिने लगाएतका कुराहरुलाई पुरै ब्याण्ड गरिदियौं । मैले संगठन संञ्चालनका लागि लेबि र कोटालाई निर्धारण गरेर व्यवस्थित गर्नु पर्दछ भनेर पहिलो जोड त्यसैमा दिएको थिए । त्यहि हिसाबले हामीले एउटा केन्द्रीय सदस्य बराबर एक सय मासिक रुपमा लेबि लिने काम गरिरहेका छौ । वास्तवमा म त्यस्तो कमिटिको अध्यक्ष भए, जो एक हजार केन्द्रीय सदस्यहरुको अध्यक्ष हुँदा महिनामा एक लाख रुपैयाँ लेबिबाट नै उठ्ने गथ्र्यो । हामीले प्रत्येक प्रदेशलाई पाँच, पाँच हजारको मासिक कोटा निर्धारण गरेका छौँ । त्यो सदस्यहरुबाट प्राप्त हुने लेबिलाई केन्द्रीत गरेर ल्याउने भन्ने हिसाबले निर्धारण गरिएको हो । यसरी हामीसँग एक लाख ३५ हजार र विश्व विद्यालयसम्म जाँदाखेरी डेड लाख जतिको नियमित आर्थिक श्रोत रहेको छ । अहिले हाम्रो कार्यालय सञ्चालन खर्च भनेको एक लाख जति मासिक हुन आउँछ । अहिले हामी त्यसैमा चलिरहेका छौँ । दाश्रो कुरा राष्ट्रिय सम्मेलनमा पुग्दाखेरी हामीले राष्ट्रिय सम्मेलन सञ्चालन गर्नका निम्ति आर्थिक रुपमा व्यवस्थापन कसरी गर्छौ भन्ने कुरा मैले अगाडि पनि भने त्यसमा हामीले कोटा लगाएका छौँ, प्रवेश शुल्क लगाएका छौँ र केहि सहयोग लिएर चाहि हामीले डिसिजन गर्ने हो । अहिले हामीसँग बचत पनि छैन, हामी खास ऋणमा पनि छैनौ ।

  • अबको सम्मेलनपछि तपाई लगाएत धेरै नेताहरु विद्यार्थी राजनीतिको जिम्मेवारीबाट बिदाई हुदैँ हुनुहुन्छ, अन्त्यमा देशभरीका अखिल क्रान्तिकारी र आम विद्यार्थीहरुलाई केही भन्नु छ भने भन्नुहोस ?

-सबैभन्दा पहिला त जो नेतृत्वमा जानका निम्ति अहिले एकदमै अथक मेहनत गरेर लागि राख्नु भएको छ, उहाँहरु सबै विद्यार्थी आन्दोलनमा विभिन्न ठाउँमा भुमिका निर्वाह गर्दै, सबै क्षेत्रमा काम गर्दै आउनु भएको हो । उहाँहरुले मेरो नेतृत्वको कमिटिमा बसेर एकदमै गम्भिरताका साथ मेरो टिमलाई सफल बनाउनका निम्ति सहयोग गर्नुभयो । त्यसकारण म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु र उहाँहरुलाई अग्रिम सफलताको शुभकामना पनि व्यक्त गर्न चाहान्छु । खास गरी उहाँहरुलाई सौहार्दपूर्ण तरिकाले शैक्षिक आन्दोलनको मुद्दालाई उठान गरेर अगाडि जान जरुरी छ भन्ने कुराको सुझाव दिन चाहान्छु, किनभने हामी विकृत राजनीति गर्न चाहिरहेका छैनौ । हामीले सुन्दर र परिबर्तन गामि राजनीतिक नेतृत्व गर्ने हो । त्यसैले विकृत प्रवृत्तिलाई हामीले अंगिकार गर्ने होइन, सौहार्दपूर्ण ढङ्गले अगाडि बढन जरुरी छ र खास गरी अन्य विद्यार्थी संगठनहरुले अखिल, नेविसंघले विगतका दिनहरुमा अवलम्बन गरेको चुनवी प्रणालीबाट सिक्ने होइन । हामी हामै्र प्रकारको र हाम्रै प्रकृतिको चुनावी प्रणालीलाई, हाम्रै कमिटि निर्माणको प्रणाली अवलम्बन गर्ने हो र विकास तिर जाने हो । त्यसका सन्दर्भमा उहाँहरुको महत्वपुर्ण भुमिका रहन्छ । तर विद्यार्थीको माझमा संगठनात्मक नेतृत्व परिबर्तनको कुरा मात्रै होइन, शैक्षिक एजेण्डका बारेमा बहस हुन जरुरी छ र त्यसका बारेमा उहाँहरुलाई केन्द्रित गर्न पनि म आग्रह गर्न चाहान्छु । किन भने शैक्षिक परिबर्तनको एजेण्डा विहिन तरिकाले नेतृत्व निर्माण गर्ने कुराको अर्थ छैन ।
विकृत एजेण्डामा बहस गरेर परिबर्तनको एजेण्डाको नेतृत्व गरेर र आजको शैक्षिक आवश्यक्तका सन्दर्भमा बहस गरेर टिम निर्माण गर्ने कुरा त्यो कार्यदिशामा टेकेर विद्यार्थी आन्दोलनलाई अगाडि बढाउने टिम निर्माण गर्नका निम्ति म उहाँहरु सबैलाई विशेष आग्रह गर्न चाहान्छु । देशैभरीका विद्यार्थी नेता, कार्यकर्ता र सुभेच्छुकहरुलाई पनि विशेष धन्यवाद मेरो नेतृत्वमा संगठनलाई आ आफ्नो ठाउँबाट सहयोग गर्नुभएको छ ।

(विद्यार्थी नेता न्यौपाने, माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हुन ।)