भरतपुरको निर्वाचन प्रभावित पार्न खोजियोः एमाले

काठमाडौं । एमालेले सत्ता पक्षले नियोजित रूपमै चितवनस्थित भरतपुर महानगरपालिकाको निर्वाचन प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

अध्यक्ष केपी ओलीनिवास बालकोटमा बुधबार बसेको स्थायी समितिको बैठकले पार्टीका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवालीलाई निर्वाचनको मुखमै पक्राउ गर्नुले सत्ता पक्षको निर्वाचन प्रभावित पार्ने नियोजित चालबाजी उदांगिएको निष्कर्ष निकालेको छ ।

‘दुई महिनासम्म पर्खिएर निर्वाचनको सन्ध्यामा गिरफ्तार गर्ने कुरा निर्वाचन प्रभावित पार्ने नियोजित चालबाजी हाम्रा पार्टीका मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरालाई चुनावकै सम्मुखमा पक्राउ गरेर उदांगो पारेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले कैलाली, कञ्चनपुर र डोटी जिल्ला समन्वय समितिमा पार्टीका तर्फबाट उठाउने प्रमुख र उपप्रमुख उम्मेदवारको टुंगो लगाएको छ ।

जसअनुसार कञ्चनपुरको प्रमुखमा फैरु तामाङ र उपप्रमुखमा सानुकुमारी बुढाथापा, कैलालीको प्रमुखमा सूर्यबहादुर थापा र उपप्रमुखमा सुन्दरीदेवी थारू तथा डोटीको प्रमुखमा रामबहादुर ऐर र उपप्रमुखमा शशी सोब छन् । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।