अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा निर्माण कम्पनीहरूले ढिलासुस्ती गरिरहेको आरोप लगाउँदै उनीहरूले समयमै काम सञ्चालन गर्न नसके सम्झौता रद्द गर्ने तयारी भएको बताएका छन् ।

समयमै काम नगर्ने कम्पनीहरूसँग एकपटक छलफल गरी समयावधि तोक्ने र समयावधिभित्र काम नगर्ने कम्पनीको लाइसेन्ससमेत खारेज गर्ने नीतिगत व्यवस्थासमेत गरिनेछ ।

मन्त्री शाहीको निजी सचिवालयले बुधबार जारी गरेको प्रेस नोटअनुसार अमेरिकी कार्यवाहक राजदूतले यी दुई आयोजना बन्न नसक्नुको कारणबारे जिज्ञासा राखेपछि मन्त्री शाहीले उक्त चेतावनी दिएका हुन् ।

नेपालमा झोलामा खोला बोकेर दलाल र माफियाहरूले काम नगरिरहेकाले यस्ता समस्या सिर्जना भएको हो, मन्त्री शाहीको भनाइ उद्धृत प्रेस नोटमा छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।