दाहाल सरकारले कार्यकर्तालाई बाँड्यो १७ करोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यक्तिलाई जथाभाबी पैसा बाँडेको खुलासा भएको छ।

पदबाट राजीनामा दिएर ‘काम चलाउ प्रधानमन्त्री’ रहेका बेला पुष्पकमल दाहाल नेतृत्वको सरकारले जेठ १९ गते एकै दिन पाँच सय ३५ जनालाई ३ करोड ७८ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको देखिन्छ ।

त्यस दिन ४ सय ८५ जनालाई ५० हजारका दरले २ करोड ४२ लाख ५० हजार वितरण गरिएको थियो भने अन्य ५० जनालाई १ देखी १० लाखका दरले १ करोड ३५ लाख ५० हजार वितरण गरिएको थियो । दाहालले गत जेठ १० मा राजीनामा दिएका थिए ।

दाहाल नेतृत्वको नौ महिने सरकारले आफनो कार्यकालमा आर्थिक सहायताको नाममा १६ करोड ७१ लाख रुपैयाँ बाँडेको भेटिएको छ । दाहाल र तत्कालिन गृहमन्त्री विमलेन्द्र निधिको मिलेमतोमा आर्थिक सहायताका नाममा यति ठुलो रकम दुरुपयोग भएको हो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।