जनकपुरधामलाई पर्यटकीय नगरी बनाउन पहल गर्छुः शहरी मन्त्री साह

जनकपुरवासीलाई एकजुट हुन आग्रह

धनुषा । शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहले जनकपुरधामलाई पर्यटकीय नगरीको रुपमा विकास गर्नको लागि आफुले पहल गर्ने बताएका छन् । उनले त्यहाँको विकासका लागि जनकपुरवासी इमान्दारीपूर्वक एकजुट हुनु पर्नेमा जोड दिए ।

मन्त्री साहले जनकपुरधामलाई पर्यटकीय नगरी बनाउन र यसको विकासका लागि सरकार गम्भीर रहेको बताए । उनले जनकपुरको विकासको लागि परेको सहयोग गर्नसमेत तयार रहेको बताए ।

जनकपुरस्थित विभिन्न ताल तलैयाको आज शिलान्यास र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय नगरको रुपमा विकास गर्न हरसम्भव प्रयास गर्ने बताए ।

उनले जनकपुरको महाराज सागर पोखरी, नोचा ठाकुर पोखरीको घाट निर्माण तथा मणि मण्डपको शिलान्यास, जानकी चोकस्थित अंगराज सर–सागर पोखरीको घाट निर्माणको उद्घाटन गरे ।

उनले मणि मण्डपको संरक्षणका लागि रु ८० करोडको गुरुयोजना तयार पारिएको र संरक्षणका लागि तत्काल रु दुई करोड विनियोजन गरिएको जानकारी दिए । रासस